वीरगन्ज,२१ माघः पर्साको बिन्दवासिनी गाँउपालिकाले दलित तथा विपन्नका लागि आवास निर्माण योजनामा अनियमितता गरेको भन्दै दलित महिलाहरुले गाँउपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
संघीय सरकारबाट प्राप्त १ करोड १० लाख रुपैयाँको लागतमा बिन्दबासिनी गाँउपालिकाले दलित तथा विपन्न समुदायको लागि आवास निर्माणका लागि टेण्डर आह्वान गरेर ठेक्का लगाइसकेको छ ।
तर लाभग्राही (विपन्न र दलित) समुदायले भने यसबारेमा आँफुहरुलाई कुनै जानकारी नै नगराई आवास निर्माणको प्रकृया गाँउपालिकाले सुरु गरिसकेको भन्दै आपत्ति जनाएका छन् ।
बुधबार वडा नम्बर २ बहुअर्वाभाठाका दलित महिलाहरुले गाँउपालिका कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । साथै उनिहरुले सूचनाको हक प्रयोग गर्दै विपन्न तथा दलित समुदाय लक्षित आवास निर्माण योजनाका बारेमा गाँउपालिकाले अगाडि बढाएको प्रकृयाका बारेमा जानकारी माग्दै निवेदनपनि दिएका छन् ।
गाँउपालिका कार्यालयमा निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष साहलाई निवेदन बुझाएका दलित महिलाहरुले आवास निर्माणका लागि संघीय सरकारबाट प्राप्त अनुदानको बजेटको परिमाण,लाभग्राही छनौट प्रकृया र छनौट गरिएका लाभग्राहीको विवरण,निर्माण हुने भनिएको भवनको अन्तिम स्वामित्व कस्को हुने लगायतका बारेमा लिखित जानकारी उपलब्ध गराइ दिन माग गरेका छन् ।
साथै उनिहरुले भवन निर्माणमा गाँउपालिकाले अनियमितता गरेकाले उक्त प्रकृया तत्काल रोक्नपनि उनिहरुले माग गरेका छन् ।
भवनका लागि लाभग्राही छनौटमै गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीले वास्तविक लाभग्राहीको सट्टा नक्कली लाभग्राहीलाई समावेश गरेको आरोप पनि दलित महिलाहरुको छ ।
यसअघि विपन्न तथा दलितका लागि आवास भवन निर्माण योजनाकै बारेमा वडा नम्बर २ का पूर्व वडाध्यक्ष सन्जय चौहाननले पनि गाँउपालिका कार्यालयमा सूचनाको हक प्रयोग गर्दै निवेदन दिएका थिए । तर उक्त निवेदनको कुनै सुनुवाई नभएको पूर्ववडाध्यक्ष चौहानले बताए ।
यसबारेमा गाँउपालिका अध्यक्ष प्रमोद तिवारीलाई टेलिफोनमा सम्पर्क गर्न खोज्दा उनले सम्पर्क गर्न चाहेनन् ।

