वीरगन्ज,१८माघःवीरगन्जको घण्टाघर छेउमा रहेको विपी उद्यान परिसर खाली गराएर हरि पार्क बनाउन थालेको वीरगन्ज महानगरपालिकाले त्यहाँ सोमबारदेखि वृक्षारोपण सुरु गरेको छ ।
हरित पार्क निर्माणको थालनी स्वरुप सोमबार देखि वृक्षारोपण कार्य सुरु गरिएको हो । सोमबार बिहान वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वृक्षारोपण कार्यको शुभारम्भ गरे ।त्यस अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको पनि विशेष उपस्थिती रहेको थियो ।
ग्रीनसिटी सामुदायिक सेवा केन्द्रको सहयोगमा सुरु गरिएको वृक्षा रोपणको पहिलो दिन सोमबार अतिक्रमण खाली गराइएको जग्गाको पर्खाल छेउमा विभिन्न प्रजातिका रुखहरु रोपिएको छ ।
त्यसअवसरमा मेयर राजेशमान सिंहले घण्टाघर क्षेत्र वीरगन्जको पहिचान र ऐतिहासिक केन्द्र भएकाले यसलाई स्वच्छ, हरियाली र सौन्दर्यपूर्ण बनाउनु महानगरपालिकाको प्राथमिकतामा रहेको बताए। उनले विपी उद्यान क्षेत्रलाई सार्वजनिक विश्रामस्थल तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने योजना अनुसार हरित पार्क निर्माण गर्न थालिएको बताए ।

