वीरगन्ज,३०चैत:वीरगन्जमा शनिबार हनुमान जन्माेत्सवमा निकालिएको शोभा यात्राको क्रममा छपकैयामा आगजनी, तोडफोड र झडप भएपछि कर्फ्यु लगाइएको क्षेत्रमा नेपाली सेनापनि परिचालन गरिएको छ ।
दुई समुदायबीच हिंसा भड्किने अवस्था सृजना भएकाले शनिबार बेलुकी ७:३० बजेदेखि आइतबार दिउँसाे १२ बजेसम्मका लागि स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो । कर्फ्युमा पनि छपकैयामा प्रदर्शन जारी रहेपछि सडकमा सेना परिचालन गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सेना परिचालन भएको पुष्टि गरे ।
योसँगै कर्फ्यु पालना गराउने क्रममा प्रहरीले चलाएको गोली लागेर एक वृद्ध घाइते भएका छन् ।वीरगन्ज-१६ का वृद्ध हरिन्द्र राउत अहिरको हातमा गोली लागेको छ । उनको उपचार नारायणी अस्पतालमा भइरहेको छ ।
शनिबार भएको झडपमा पर्साका प्रहरी उपरीक्षक गाैतम मिश्र,सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहसहित २५ प्रहरी र १५ भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्।

