वीरगन्ज,१०माघ:वीरगन्ज-९ घण्टाघर छेउको बीपी उद्यान नजिक उत्तरतर्फ रहेको खाली जग्गामा महानगरपालिकाले `रेल्वे म्युजियम´निर्माणका लागि तयारी थालेकाे छ।
गत असार ९ गते महानगरपालिकाकाे १३ ओैं नगरसभामा मेयर राजेशमान सिंहले प्रस्तुत गरेकाे चालू आर्थिक वर्ष २०८२/८३ काे नीति तथा कार्यक्रममा वीरगन्ज नेपालको पहिलो रेल सेवा (रक्सौल–अमलेखगञ्ज रेल सेवा) प्रारम्भ भएको ऐतिहासिक सहर भएको भन्दै रेल्वे सेवा स्थापना भएको १०० वर्ष पुरा भएको अवसरमा पुराना रेल्वे संरचनाहरूलाई संरक्षण र पुनःप्रयोग गर्दै ‘रेल्वे म्युजियम’निर्माणको कार्य अगाडि बढाइने घाेषणा गरेका थिए ।

त्यही घाेषणा अनुरुप विपी उद्यान छेउकाे जग्गामा अहिले महानगरपालिकाले `रेल्वे म्युजियम´निर्माणका लागि तयारी थालेकाे हाे।त्यसका लागि शनिबार त्यहाँ रहेका रेल्वेका पुराना संरचनाका साथै झाडी,रुखहरु फाँडेर सरसफाइ गरिएको छ।रेल्वे म्युजियम निर्माण हुने स्थानलाई सफा र व्यवस्थित बनाउन शनिबार सरसफाइ गरिएको हो।
वीरगन्जमहानगरपालिका, ग्रीन सिटी प्रहरी सामुदायिक केन्द्र, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त सहभागीतामा सरसफाइ गरिएको हाे।

सरसफाइ कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल,प्रहरी उपरीक्षक सुदीपराज पाठक, ग्रीन सिटी प्रहरी सामुदायिक केन्द्रका अध्यक्ष जयप्रकाश खेतान,वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण लगायतकाको पनि सहभागीता रहेको थियो।

