वीरगन्ज,६माघःराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पर्साका चार मध्ये तीन वटा क्षेत्रको मात्रै उम्मेदवारको टुंगो लगाएको छ ।सोमबार अबेर राति जनकपुरमा बसेको पार्टीको उम्मेदवार छनौट समितिको बैठकले पर्सा क्षेत्र नम्बर १ मा जिल्ला सभापति बुद्धिप्रसाद पन्त (हरि पन्त) लाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यस्तै पार्टीले क्षेत्र नम्बर ३ मा रमाकान्त चौरसियालाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला सभापति पन्तले जानकारी दिए । चौरसिया निर्माण व्यवसायी हुन् । यसअघि नेपाली कांग्रेस निकट थिए ।
यसैगरि रास्वपाले पर्सा क्षेत्र नम्बर ४ मा टेकमान शाक्यलाई उम्मेदवार बनाएको छ । शाक्य, केहि हप्ता अघि मात्रै प्रचण्ड नेतृत्वको तत्कालिन नेकपा मओवादी केन्द्र परित्याग गरि रास्वपामा प्रवेश गरेका थिए । माओवादी केन्द्रमा उनि केन्द्रिय सदस्य थिए ।
पर्सा क्षेत्र नम्बर २ मा भने उम्मेदवारको अन्तिम टुंगो सोमबार मध्यरातसम्म पनि नलागेको जिल्ला सभापति पन्तले बताए ।
पर्सा क्षेत्र नम्बर २ बाट रास्वपाको उम्मेदवार वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु बन्ने चर्चा विगत एकहप्ता देखि चल्दै आएको छ ।
तर पर्सा क्षेत्र नम्बर २ कै उम्मेदवारका लागि प्रमेश्वर कलवार र परबेज अख्तरपनि आकांक्षी रहेका कारण उक्त क्षेत्रको उम्मेदवारको टुंगो सोमबार मध्यरातसम्म पनि रास्वपाले लगाउन सकेको छैन ।जनकपुरमै रहेका जिल्ला सभापति पन्तले भने,‘ पर्सा क्षेत्र नम्बर २ को उम्मेदवारपनि टुंगो लगाउने प्रयास जारी छ ।तर कुनबेलासम्म अन्तिम निर्णय आउँछ त्यो अहिले नै भन्न सकिन्न् ।’

