वीरगन्ज,१माघःस्व.गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार वीरगन्जका पत्रकार गोविन्द देवकोटालाई प्रदान गरिएको छ ।
बिहीबार नेपाल पत्रकार महासंघ पर्साले स्व. गिरीको पुण्य तिथीमा आयोजना गरेको कार्यक्रममा देवकोटलाई ५१ हजार रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा मधेस प्रदेश सरकारका भूमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री श्याम पटेलले ५१ हजार रुपैयाँको चेक र कदरपत्र पत्रकार देवकोटालाई प्रदान गरे ।
देवकोटा, वीरगन्जबाट प्रशारण हुदैं आएको सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष र सामुदायिक रेडियो प्रशारक संघका केन्द्रिय बरिष्ठ उपाध्यक्षपनि हुन् ।
वीरगन्जका पूर्व मेयर तथा नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व अध्यक्षसमेत रहेका गोपाल गिरीको २०६० साल माज्ञ १ गते तत्कालीन माओवादीले गोली हानी हत्या गरेको थियो ।
स्व. गिरीको स्मृतिमा नेपाल पत्रकार महासंघ पर्साले स्थापना गरेको स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारबाट यसअघि पत्रकारहरु गया यादव, कन्हैयालाल केसरी ओमप्रकाश खनाल , श्याम बन्जारा ,पंकज श्रेष्ठ, बृजलाल पासवान, शत्रुघन नेपाल, ध्रुव साह लगायतका पत्रकारहरु पुरस्कृत भइसकेका छन ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारी, पूर्व केन्द्रिय सचिव दिपेन्द्र चौहान, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायतकाकोपनि विशेष उपस्थिती थियो ।

