
माधुरी महत्तो
वीरगन्ज,१७ असार : बाराको कलैया बजारमा कालोबजारी गरि ग्राहक र उपभोक्तालाइ ठग्ने आठ वटा पसलहरु कारबाहीमा परेका छन् ।
वीरगन्ज स्थित बाणिज्य ,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयबाट शुक्रबार खटिएको बजार अनुगमन टोलीले कलैया बजारका विभिन्न ८ वटा पसललाइ कारबाही गरि आर्थिक जरिवाना पनि तिराएको छ ।अनुगमनका क्रममा खरिद बिल नदेखाएका र अनुगमनमा असहयोग गरेका ८ वटा पसललाइ कारबाही गरिएको वीरगन्ज स्थित बाणिज्य ,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सुचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिए ।
कार्यालयका निरीक्षण अधिकृत नमोनाथ प्रसाद यादवको नेतृत्वमा खटिएको टोलीले बिल नदेखाएका कलैया १ को पोशाक इम्पोरियमलाइ २० हजार रुपैया , खुश्बु साडी इम्पोरियमलाइ पनि २० हजार रुपैया , न्यु नबिन बस्त्रालयलाइ १० हजार रुपैया , जवाहरलाल हार्डवेयरलाइ ५ हजार रुपैया , प्रियंका रेडिमेड जेनरल स्टोर्सलाइ १० हजार रुपैया , गौरीशंकर सप्लार्यसलाइ पनि ५ हजार रुपैया , कलैया ६ को चौधरी किराना पसललाइ ५ हजार रुपैया र जय बाबा अमरनाथ किराना भण्डारलाइ ३ हजार रुपैया जरीवाना गरिएको हो ।

जरिवाना गरिएको रकम सात दिन भित्र राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गरि त्यसको भौचर कार्यालयमा पेश गर्न कार्वाहीमा परेका पसलका सन्चालकहरुलाइ निर्देशन दिइएको सुचना अधिकारी खत्वेले जानकारी दिए ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय बारा ,जिल्ला प्रहरी कार्यालय बारा ,गुणस्तर तथा नापतौल कार्यालय पर्सा ,घरेलु तथा सना उधोग कार्यालय बारा ,बारा उद्योग बाणिज्य संघका प्रतिनिधीहरुको पनि सहभागीता रहेको थियो ।

