वीरगन्ज,२५पुस:वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सामाजिक संस्कारको विकास बिना आर्थिक संस्कारको सुधार सम्भव नहुने बताएका छन् । वीरगन्जमा शुक्रबार सम्पन्न ‘आत्मनिर्भर समृद्ध वीरगन्ज–एक विराट सम्भावना’ विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर सिंहले मानसिकताको परिवर्तन बिना दिगो आर्थिक समृद्धि हासिल गर्न नसकिने बताए ।
मेयर सिंहले गलत प्रवृत्तिको खुलेर विरोध गर्नुपर्नेमा जोड दिँदै युवाहरू विशेषगरी लहैलहैमा लाग्ने प्रवृत्तिबाट सचेत हुनुपर्ने उल्लेख गरे । “कसैको प्रभाव वा दबाबमा नपरी युवाहरू सकारात्मक र सिर्जनात्मक कार्यमा अग्रसर हुनुपर्छ,” उनले भने।वैभवशाली वीरगन्ज निर्माणका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउँदै उनले संघीय सरकारले वीरगन्जलाई उपेक्षा गरेको आरोप लगाए । देशभर आपूर्ति हुने अधिकांश सामान वीरगनजकै नाका हुँदै जाने गरेपनि केवल ढुवानी मार्गका रूपमा सीमित हुँदा यहाँका नागरिकले धुलो–धुवाँ सहनुपरेको र अपेक्षित सुविधा नपाएकोप्रति उनले असन्तोष व्यक्त गरे।
कार्यक्रममा मधेस विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दीपक शाक्यले उद्यमशीलताको विकास अपरिहार्य रहेको बताए । अब जागिर खोज्ने होइन, रोजगारी सिर्जना गर्ने संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिए । आर्थिक संस्कारले नै बजारलाई चलायमान बनाउने भएकाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने उहाको भनाइ थियो।
नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले तराई–मधेस द्रुत मार्ग निर्माणपछि वीरगंजको तीव्र विकास हुने विश्वास व्यक्त गरे । एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी), सुख्खा बन्दरगाह (ड्राइपोर्ट) र वीरगन्ज भन्सार कार्यालय जस्ता संरचना हुँदाहुँदै पनि त्यसको प्रत्यक्ष लाभ शहरले लिन नसकेको उनले बताए ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले वीरगन्जसँगै पर्सा र बारा जिल्लासमेत प्रभावित हुने गरी सरकार निजी क्षेत्रमैत्री नहुँदा उद्योग–कलकारखाना धराशायी हुँदै गएको बताए । तीनै तहका करको बोझका कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था सिर्जना भएकोप्रति उनले चिन्ता व्यक्त गरे।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले वीरगन्ज आफैंमा आर्थिक संस्कारयुक्त शहर भएपनि पछिल्लो समय अतिवाद बढ्दै गएको टिप्पणी गरे । वीरगन्जको पहिचान जोगाउन यहाँ रहेका प्रचुर सम्भावनाको उचित व्यवस्थापन र प्रवद्र्धन आवश्यक रहेको उनले बताए ।
पिङ्क रोज मिडियाकी अध्यक्ष अमृता पाण्डेले आर्थिक नगरी वीरगंजको दिगो समृद्धिका लागि आर्थिक संस्कार अपरिहार्य रहेको आत्मबोधका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिइने । संस्थाका प्रबन्ध निर्देशक राजेश महर्जनले पनि आर्थिक चेतना र सहकार्यबाट मात्र वीरगन्जको सम्भावनालाई यथार्थमा रूपान्तरण गर्न सकिने धारणा राखे ।
कार्यक्रममा उद्योगी अशोक वैद्य, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. निरज कुमार सिंह, रेडियो वीरगन्जका कार्यकारी अध्यक्ष ध्रुव साह, अर्थविद् डा. दिपेन्द्र कुमार चौधरी, नेपाल राष्ट्र बैंक वीरगन्जका निर्देशक सुशिल पौडेल, पर्सा जिल्ला अदालत बार एसोसिएशनका अध्यक्ष रामनारायण कुर्मी लगायतले आ–आफ्नो धारणा राखेका थिए।

