Madhes Khabar
राजनीति हेडलाइन

मधेसमा कांग्रेसका बहुमत प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा : पर्साबाट ४० जनाले गरे हस्ताक्षर

जनकपुर,२३पुसःविशेष कि नियमित महाधिवेशनबारे नेपाली कांग्रेसमा विवाद चर्किएको बेला मधेस प्रदेशका बहुमत महाधिवेशन प्रतिनिधिहरु भने विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । विशेष महाधिवेशनको पक्षमा मधेस प्रदेशका ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरिसकेका छन् । उनीहरू पुस २६ गते रात्रिकालीन बसमा काठमाडौं प्रस्थान गर्ने तयारीमा छन् ।

कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको सबै प्रक्रिया अघि बढाएका बेला मधेस प्रदेशमा यसको पक्षमा अझै महाधिवेशन प्रतिनिधि थप्ने अभियानमा थापा–शर्मा समर्थकले कसरत गरिरहेका छन् । मधेस प्रदेशका ८ जिल्लामा ८ सय २३ जना महाधिवेशन प्रतिनिधिमध्ये ४ सय १६ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरिसकेका छन् । हस्ताक्षर थपिने क्रममा रहेको थापा पक्षधर नेताहरूको दाबी छ ।

महामन्त्री थापा पक्षधर मधेस कांग्रेस समितिका उपसभापति वीरेन्द्र सिंहका अनुसार विशेष महाधिवेशनको पक्षमा महाधिवेशन प्रतिनिधि तान्न छलफल र कुराकानी भइरहेको छ । ‘विशेष महाधिवेशनमा सहभागी हुन हामी पुस २६ गते काठमाडौं जाँदैछौं,’ कांग्रेस मधेस समितिका उपसभापति सिंहले भने,‘हस्ताक्षर नगरेका महाधिवेशन प्रतिनिधिलाई पनि काठमाण्डौं जान आग्रह र खबर गरिरहेका छौं । संख्या अझै बढ्ला नै घटदैन ।’

कांग्रेस मधेसका उपसभापति सिंह महाधिवेशन प्रतिनिधि रहेको सर्लाही जिल्लाबाट १ सय ३ जना महाधिवेशन प्रतिनीधिमध्ये ७० जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् ।

पर्सामा १ सय जना महाधिवेशन प्रतिनिधिमध्ये ४० जना विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । महामन्त्री थापा समर्थक नेता सुरेन्द्र चौधरीले विशेष महाधिवेशनको पक्षमा अझै ५–७ जना महाधिवेशन प्रतिनीधि थपिने बताए । तर, पार्टी सभापति शेरबहादुर देउवा पक्षका पर्साका नेता रमेश पाण्डेले भने विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका धेरैजनाले फिर्ता लिइसकेकाले पर्साबाट बढीमा १४–१५ जना मात्र विशेष महाधिवेशनको पक्षमा रहेको दाबी गरे ।

बारामा पनि १ सय ४ जना महाधिवेशन प्रतिनिधिमा ६३ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । रौतहटमा भने १ सय १० जना महाधिवेशन प्रतिनिधिमा २१ जना मात्रले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । रौतहट, मधेस प्रदेश कांग्रेस समितिका सभापति एवं मुख्यमन्त्री कृष्णप्रसाद यादवको गृह जिल्लापनि हो । यादव भने देउवानिकट हुन् ।

महोत्तरीमा १ सय ५ जना महाधिवेशन प्रतिनिधिमा ५४ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । महामन्त्री थापानिकट महोत्तरीका नेता पोषण थापाका अनुसार अझै ६ जना महाधिवेशन प्रतिनिधि सम्पर्कमा रहेकाले संख्या बढ्नेछ ।अजित तिवारी/कान्तिपुर

 

Related posts

देउवालाई कांग्रेस सांसद सुनिल शर्माको चेतावनी : बोल्न नदिए बिद्रोह गर्छु

MadhesKhabar

किसान श्रेष्ठ विरुद्ध प्रचार गरेका काँग्रेस बाराका उपसभापति पाल पार्टीबाट निष्काशीत

MadhesKhabar

वीरन्जका होटलहरुमा महानगरको अनुगमन, माल्ट रेस्टुरेन्टलाई २५ सय जरीबाना

MadhesKhabar

Leave a Comment