Madhes Khabar
स्थानिय हेडलाइन

पूर्वमन्त्री यादवकाे अपिल :वीरगन्जमा आपसी सदभावलाई नबिगाराैं,सबैले एकअर्काको सम्मान गराैं

वीरगन्ज,२२पुस:पूर्वमन्त्री तथा पर्सा-१ का निवर्तमान सांसद प्रदीप यादवले वीरगन्जमा धार्मिक र सामाजिक सदभावलाई अझ बलियाे बनाउन अपिल गरेका छन्।

धनुषामा मस्जिद ताेडफाेडकाे विषयलाई लिएर वीरगन्ज ३ दिनदेखि अशान्त बनेपछि त्यसैलाई मध्यनजर गर्दै पूर्वमन्त्री यादवले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै वीरगन्जमा धार्मिक र सामाजिक सद्भाव बिग्रिन नदिन सबैमा अपिल गरेका हुन्।

 

वीरगन्ज सधैंदेखि हिन्दू–मुस्लिम आपसी भाइचारा, सहअस्तित्व, प्रेम र सद्भावको सुन्दर सहरका रुपमा उदाहरण रहँदै आएकाे भन्दै यादवले धर्म, जात वा समुदायभन्दा माथि उठेर सबैले एकअर्काको सम्मान गर्न,संयमता अपनाउन र आपसी सद्भावलाई अझ बलियो बनाउन अपिल गरेका छन् ।

फेसबुकमा यादवले लेखेका छन् :

वीरगन्ज क्षेत्रका मेरा आदरणीय मान्य जन ,दाजुभाइ तथा दिदीबहिनीहरू,

आजको यो संवेदनशील घडीमा म एक निवर्तमान निर्वाचितजनप्रतिनिधि मात्र होइन, यही माटोमा जन्मिएको एक जिम्मेवार वीरगन्जवासीको हैसियतले तपाईंहरू सबैसँग हृदयदेखि विनम्र अपील गर्न चाहन्छु।

हाम्रो वीरगन्ज सधैंदेखि हिन्दू–मुस्लिम आपसी भाइचारा, सहअस्तित्व, प्रेम र सद्भावको सुन्दर उदाहरण रहँदै आएको सहर हो। यहाँ धर्म फरक हुन सक्छ, संस्कार फरक हुन सक्छन् , तर हाम्रो साझा भविष्य एउटै हो। यही बोध र आपसी सामंजस्यले वीरगन्जलाई विशिष्ट पहिचान दिएको छ।

आज केही भ्रम, अफवाह वा उक्साहटले समाजमा तनाव सिर्जना गर्ने प्रयास भइरहेको देखिन्छ। म सबै वीरगन्जवासीलाई आग्रह गर्दछु—कुनै पनि भड्काउने कुरामा नफसौं, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलाइने गलत सूचनाबाट सजग रहौं। शान्ति भंग हुने कुनै पनि गतिविधि हाम्रो सहर, हाम्रो समाज र हाम्रो सन्ततिका लागि हितकर हुँदैन।

धर्म, जात वा समुदायभन्दा माथि उठेर हामी सबैले एकअर्काको सम्मान गरौं, संयमता अपनाऔं र आपसी सद्भावलाई अझ बलियो बनाऔं। शान्ति कायम राख्नु केवल प्रशासनको जिम्मेवारी मात्र होइन, हामी सबै नागरिकको साझा दायित्व हो।

वीरगन्ज शान्तिको सहर हो, सद्भावको सहर हो।आउनुहोस्, हामी सबै मिलेर वीरगन्जको यही गौरवलाई जोगाऔं, एकता र भाईचाराको सन्देश फैलाऔं, र भावी पुस्तालाई शान्त, सुरक्षित र समृद्ध समाज हस्तान्तरण गरौं।समाजमा द्वन्द्व उत्पन्न गर्ने व्यक्ति जहां सुकैका होउन तिनको पहिचान गरि त्यसलाई कानूनको दायरामा अविलम्ब ल्याउन बर्तमान प्रधानमंत्री सुशीला कार्की ज्यू संग अनुरोध गर्दछु। नेपाल सरकारद्वारा संवाद, सद्भाव र शांति स्थापनाका लागि गरिने प्रत्येक कार्यमा मेरो तर्फबाट हुन सक्ने सहयोग र समर्थनका लागि आफु सदैव तत्पर रहने व्यहोरा समेत सार्वजनिक रूपमा राख्न चाहन्छु।

Related posts

हैजाको उपचारका लागि मधेस सरकारले नारायणी अस्पताललाई दियो औषधिसहितका सामग्री

MadhesKhabar

पर्साका सीडीओ सुबेदीको २ महिनामै सरुवा, पर्सामा अब दाहाल आउँदै

MadhesKhabar

भारतले रच्यो इतिहास : चन्द्रयान–३ चन्द्रमामा अवतरण

MadhesKhabar

Leave a Comment