काठमाडौं,२०पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा महामन्त्री पद काठमाडौं महानगरका मेयर बालेन शाह पक्षबाट थपिने भएको छ । बालेन र कुलमान घिसिंगलाई रास्वपासँग मिलाउनका लागि सक्रिय एक नेताका अनुसार महामन्त्री पदमा बालेन पक्षबाट थपिने निश्चित गरिएको छ ।
रास्वपाको आइतबार बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी पद थप्ने निर्णय गरेको छ । सहमहामन्त्री र सहप्रवक्ता १÷१ जना थप्ने निर्णय भएको छ ।
रास्वपा स्रोतका अनुसार सहमहामन्त्री र सहप्रवक्तामा दुई जना कुलमान घिसिंग संरक्षक रहेको उज्यालो नेपाल पार्टी पक्षका राखिने भएको छ ।
महामन्त्रीमा बालेन पक्षबाट इन्जिनियर सुनिल लम्साल बन्ने सम्भावना बलियो छ ।बालेन समूहले लम्सालको नाम प्रस्ताव गरेको छ । उनी मेयर बालेनका पूर्वाधार सल्लाहकार थिए ।
आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले ४ जना पदाधिकारी थप गर्ने निर्णय गरेको हो । उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एक/एक जना थप गर्ने निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
पार्टी एकीकरण एवं विस्तारको क्रममा पार्टीले यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि पार्टी विधान संशोधनमा समावेश हुने गरी पदाधिकारीको संख्या थप गर्ने निर्णय भएको उनले बताए ।

