Madhes Khabar
राजनीति हेडलाइन

वीरगन्ज आएर उपेन्द्र यादवले दिए चेतावनी : संविधान पुनर्लेखन गरिएन भने च्यातेर फाल्छौ

वीरगन्ज,१५पुस :जनता समाजवादी पार्टी (जसपा ) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन वा पुर्नलेखन नगरिए च्यातेर अर्को संविधान जारी गरिने चेतावनी दिएका छन् ।

मंगलबार वीरगन्जमा जसपा नेपालले आयोजना गरेको जनप्रदर्शन तथा विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने,‘संविधान पुर्नलेखनका लागि फेरि एकपटक जसपा नेपालले आन्दोलन गर्छ । आन्दोलन गर्दापनि पुर्नलेखन गरिएन भने यो संविधान च्यातेर अर्को संविधान जारी गर्न बाध्य बनाउँछौं ।’

अहिलेको संविधान मधेसी, जनजाति, अल्पसंख्यक लगायतका समुदाय विरोधी र विभेदकारी रहेकोले यस्को पुर्नलेखन अपरिहार्य रहेको उनले बताए । अध्यक्ष यादवले फागुन २१ को निर्वाचन अगाडि नै संविधान संशोधन वा पुर्नलेखन गरिनुपर्ने माग जसपा नेपालको रहेको बताए ।

सरकार र जेनजी प्रतिनिधिहरुबीच भएको १० बुँदे सम्झौताको कार्यान्वयन निर्वाचन अगाडि नै हुनुपर्ने आँफुहरुको माग रहेको अध्यक्ष यादवले सुनाए । उनले भने,‘किनकि भ्रष्टचारीलाई कारबाही,सुशासन कायम, शासनसत्तामा परिवर्तन, राजनीतिक स्थिरता लगायत जेनजी आन्दोलनका एजेण्डाहरु जसपा नेपालले पहिलेदेखि नै उठाँउदै आएको थियो । त्यसका कारण जेनजीसंग सरकारले गरेका सम्झौता चुनाव अगाडि नै कार्यान्वयनमा ल्याउनुपर्छ ।’

तर विगतका सरकारले मधेसी जनतालाई ठगेको जस्तै अहिलेको सरकारले पनि जेनजी पुस्तालाई धोखा दिइरहेको आरोप अध्यक्ष यादवले लगाए ।उनले भने,‘सरकारले जेनजीलाई ठगिरहेको छ , धोखा दिइरहेको छ । जेनजीले बगाएको रगत र दिएको शाहदतमाथि सरकारले मजाक गरिरहेको छ।’

मधेस आन्दोलनको बलबाट प्राप्त संघीयता, लोकतन्त्र लगायतका उपलब्धि मास्ने षडयन्त्र अहिलेपनि भइरहेको भन्दै उनले ती उपलब्धीहरु रक्षाका लागि नै जसपा नेपाल फागुन २१ को निर्वाचनमा सहभागी हुन लागेको स्पष्ट पारे ।

विशेषगरी ३५ वर्षसम्म सत्तामा बसेर नेपाली जनतामाथि शासन गरेका कांग्रेस र कम्यनिष्टले मधेस आन्दोलनबाट प्राप्त उपलब्धिहरु मास्ने षडयन्त्र अहिलेपनि गरिरहेको उनले आरोप लगाए।

अध्यक्ष यादवले विगत ३५ वर्षसम्म शासनसत्ता कब्जा गरेका कांग्रेस र कम्युनिष्टकै कारण देश बर्बाद भएको बताए । विगत ३५ वर्षमा कांग्रेस र कम्युनिष्टले शासनसत्तामा बसेर भ्रष्टचार र लुटतन्त्र मात्तै मच्चाएको उनले बताए । जसका कारण देशको अर्थतन्त्र धराशायी बनेको, सरकारी उद्योग कलकारखानाहरु बन्द हुनपुगेको, निजी क्षेत्र पलायन भएको र बेरोजगारी बढ्नुका साथै शिक्षा र स्वास्थ्य क्षेत्रपनि धराशायी बनेको उनको भनाई थियो ।

त्यसकारण अबको निर्वाचनबाट कांग्रेस र कम्युनिष्टलाई जनताले पुन सत्तामा आउन दिनबाट बञ्चित गर्नुपर्ने अन्यथा फेरि उनिहरु आए देश पहिलेको ३५ वर्षजस्तै फेरि बर्बादीको बाटोमा जाने उनले बताए ।

Related posts

जगरनाथपुर गाँउपालिकाकाे वडाहरु मै शिविर सन्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण

MadhesKhabar

मधेस प्रदेश प्रमुख मिश्र पदमुक्त,भण्डारीकाे नाम सिफारिस

MadhesKhabar

आर्थिक मन्दीको असर : वीरगन्जका दुवै भन्सार कार्यालय राजश्व असुलीको लक्ष्य भेट्याउन असफल

MadhesKhabar

Leave a Comment