वीरगन्ज,२पुस:मंसिर २७ गते वीरगन्जकाे पुरानो बसपार्कस्थित त्रिशाला रेष्टुरेन्टमा कार्यरत सुनिता स्याङ्बो मृत फेला परेको घटनाको छानबिन तथा दोषीलाई कारबाहीको माग गर्दै उनका आफन्त तथा स्थानीयले बुधबार वीरगन्जमा प्रदर्शन गरेका छन्।
पर्साकाे पर्सागढी नगरपालिका–३ झबराहाकी २१ वर्षीया स्याङ्बोका आफन्त र गाउँलेले घटनाको छानबिन तथा दोषीलाई कारबाहीको माग गर्दै वीरगन्जमा नाराबाजीसहित प्रदर्शन गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय अगाडिबाट नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका प्रदर्शनकारीहरूले प्रशासन कार्यालयको मूल ढोका बन्द देखेपछि त्यहाँबाट फर्किएर जिल्ला प्रहरी कार्यालय अगाडि लालबंगलाको खाली जग्गामा भेला भएर प्रदर्शन तथा नाराबाजी गरेका थिए। सुनिताको शवको प्रकृति हेर्दा घाँटी अठ्याएर मारिएको जस्तो देखिएको दाबी आफन्तजनको छ।
पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले अनुसन्धानको क्रममा होटलमा कार्यरत तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको बताए। उनले मृतकका आफन्तसँग छलफल भइरहेको बताए। मृतक युवतीको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौं पठाइएको कार्कीले बताए।साभार:इकान्तिपुर

