वीरगन्ज,२पुस:वीरगन्जमा बुधबारदेखि ‘प्याब्सन गर्ल्स एन्ड जुनियर ब्वाइज टी–१० नकआउट क्रिकेट टुर्नामेन्ट’ सुरु भएको छ।निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगन्जको आयोजनामा आदर्शनगर रंगशालामा सुरु प्रतियोगिताको उद्घाटन वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर सिंहले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनले पढाइसँगै खेलकुदलाई समान महत्व दिन सकेमा अनुशासित, आत्मविश्वासी र सक्षम नागरिक तयार गर्न सकिने बताए। यस्ता प्रतियोगिताले भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पुर्याउँने भन्दै मेयर सिंहले वीरगन्ज महानगरपालिका खेलकुद प्रवर्द्धनका लागि सधैं सहयोगी रहने प्रतिबद्धता पनि व्यक्त गरे।
प्रतियोगितामा प्याब्सनमा आबद्ध वीरगन्जका ३६ वटा विद्यालयका टिमहरूको सहभागिता रहेको छ।
प्याब्सन वीरगञ्जका सचिव अमित आलोकले महिला क्रिकेटरलाई प्रोत्साहन गर्नुका साथै सानै उमेरदेखि बालबालिकालाई खेलकुदमा संलग्न गराई उनीहरूको सर्वाङ्गीण विकास गर्ने उदेश्यले प्रतियोगिताको आयाेजना गरिएको बताए।
प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछाने, नेपाल इनोभेटिभ सोसाइटी वीरगन्जका अध्यक्ष कमल चौगाई, प्याब्सन वीरगन्जका वरिष्ठ उपाध्यक्ष सुशिला साह, सल्लाहकारहरू अशोक संग्राैला,आलोक चौरसिया र विजय बलको पनि उपस्थिति रहेको थियो।

