वीरगन्ज,५मंसिरःपर्साको पकहा मैनपुर गाउँपालिका वडा नम्बर ३ स्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयले आफ्ना निवर्तमान प्रधानाध्यापक छोटेलाल प्रसाद साह तेलीलाई एक भव्य समारोह आयोजना गरेर विदाई गरेको छ। विद्यालयका प्रधानाध्यापक मनोज यादवको अध्यक्षता तथा वडा अध्यक्ष सञ्जय प्रसाद चौहानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहलाई फूलमाला र दोसाला ओढाएर सम्मानपूर्वक विदाई गरिएको हो।
साहले उक्त विद्यालयमा करिब चार वर्षसम्म अध्यापन गरेका थिए। आफ्नो कार्यकालमा उनले विद्यालयमा अनुशासन सुधार, शैक्षिक गुणस्तर वृद्धि तथा प्राविधिक धार अन्तर्गत सिभिल इन्जिनियरिङ कक्षा स्थापना गरेर विद्यालयलाई नयाँ उचाईमा पु¥याएको वक्ताहरुले कार्यक्रममा स्मरण गरेका थिए ।
साहको नेतृत्वमा विद्यालयले यस क्षेत्रको प्राविधिक शिक्षामा कोसेढुंगाको भूमिका निभाएको सहभागीहरूले बताए।
विदाई समारोहमा गाँउपालिकाका शिक्षा शाखा प्रमुख सञ्जय चौहान, शिक्षा समिति सदस्य अनिल प्रसाद तेली, पालिकाअन्तर्गतका सबै विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीको सक्रिय उपस्थिति रहेको थियो।

