Madhes Khabar
राजनीति

थप द्वन्द्व नहोस् भनेर सोनलले छाडे मुख्यमन्त्रीको सरकारी निवास

जनकपुर,५मंसिरः मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले अन्ततः सरकारी निवास खाली गरेका छन्। शुक्रबार बिहानै उनले आवास परिसरका गमलामा पानी हाल्दै निवास छाडेको दृश्य सार्वजनिक भएको हो।

नवनियुक्त मुख्यमन्त्री सरोज यादवले दिएको अल्टिमेटमभित्रै निवास खाली गरेपछि अब मुख्यमन्त्री कार्यालयले नयाँ बसोबास व्यवस्थाका प्रक्रिया अघि बढाउने भएको छ। यादवले केही दिनअघिदेखि नै विभिन्न दलका नेता, संसदीय दलका प्रमुख सचेतक तथा सम्बद्ध पक्षसँग समन्वय गरी निवास खाली गराइदिन आग्रह गर्दै आएका थिए।

यसअघि सर्वोच्च अदालतमा विचाराधीन मुद्दा टुंगो नलागेसम्म निवास नछाड्ने भनिएको ७ दलिय गठबन्धनले पछिल्लो सहमतिसँगै प्रक्रिया सहज बनाइदिएको स्रोतहरूले जनाएका छन्। सोनलले निवास छाडेसँगै अब नयाँ मुख्यमन्त्री यादवले औपचारिकरूपमै सरकारी निवास प्रवेश गर्ने तयारी गरिएको स्रोतले जनाएको छ ।

प्रतिपक्षी सात दलीय गठबन्धनले सरोजकुमार यादवको मुख्यमन्त्री नियुक्ति र शपथ प्रक्रिया असंवैधानिक भएको भन्दै सर्वोच्चको अन्तिम फैसला नआउँदासम्म जितेन्द्र सोनल नै वैध मुख्यमन्त्री रहेको अडान लिँदै आएको थियो । त्यही कारण सोनलले सरकारी निवास तथा गाडी नछाड्ने बताउँदै आएका थिए ।

लोसपाका मधेस प्रदेश संसदीय दलका नेता जयनुल राईनका अनुसार, मुख्यमन्त्री यादवले कार्यकर्ता र प्रशासन लगाएर जबरजस्ती खाली गराउने धम्की दिएको कारण सोनलले सम्भावित द्वन्द्वलाई मध्यनजर गर्दै निवासी छाडेका हुन् । “अहिले एमालेको गतिविधिका कारण बारा–पर्सामा त्रासको वातावरण छ । जनकपुरमा विवाह पञ्चमीको धार्मिक माहौल छ । यस्तो बेला कुनै अप्रिय घटना भए देशभरि नकारात्मक सन्देश जान सक्थ्यो । त्यसैले परिस्थिति बिग्रन नदिन हामी बाध्य भयौँ,” उनले भने ।

 

Related posts

मधेसकाे मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

MadhesKhabar

लाेसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी बिच कार्यगत एकता गर्ने सहमति

MadhesKhabar

नयाँ दल जसपाको केन्द्रिय उपमहासचिवमा प्रदीप यादव र केन्द्रिय सदस्यमा राजेशमान सिंह

MadhesKhabar

Leave a Comment