प्रमोद यादव
पर्सा,४मंसिर:पर्सा जिल्लाका विभिन्न स्थानीय तहहरूमा गम्भीर प्रकृतिका अपराधमा संलग्न फरार प्रतिवादीहरू खुलेयाम घुमिरहँदा पनि स्थानीय प्रशासन र नेपाल प्रहरीको सक्रियता नदेखिएको भन्दै स्थानीय बासिन्दा त्रसित बनेका छन्।
जिल्लाको सदरमुकाम वीरगन्ज महानगरपालिकादेखि ग्रामीण भेगका पालिकाहरूमा समेत आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू कानुनी कारबाहीको दायरामा आउनुको सट्टा समाजमै खुलेआम हिँडिरहेको पाइएको छ।
सखुवा प्रसौनी, पटेर्वा सुगौली, जगरनाथपुर, जीराभवानी, ठोरी, धोबिनी, कालिकामाई, छिपहरमाई, विन्दवासिनी, पकाहा मैनपुर, पोखरिया, पर्सागढी र बहुदरमाई लगायतका क्षेत्रहरूमा फरार प्रतिवादीहरूको बिगबिगी देखिएको छ। यी क्षेत्रहरूमा प्रहरीको उपस्थिति भएपनि कारबाही प्रक्रिया सुस्त हुँदा अपराधीहरूको मनोबल बढेको स्थानीयको गुनासो छ।
अदालत र प्रहरीको सूचीमा फरार रहेका व्यक्तिहरू सामान्य कसुरदार मात्र नभई जघन्य अपराधमा मुछिएकाहरू छन्। विशेष गरी लेनदेन, कुटपिट, शरीर बन्धक, ज्यान मार्ने उद्योग, महिला हिंसा, चोरी, जबर्जस्ती करणी (बलात्कार), लागुऔषध ओसारपसार, जालसाजी, काठ तस्करी, बोक्सीको आरोपमा दुर्व्यवहार र वन्यजन्तु चोरी निकासी जस्ता मुद्दाका प्रतिवादीहरू गाउँघरमै निर्धक्क बसिरहेका छन्।
स्थानीयका अनुसार, लागुऔषध मुद्दामा मुछिएका र केही समय फरार रहेका वा छुटेका व्यक्तिहरू पुनः सोही धन्दामा सक्रिय भएका छन्। यसले गाउँका युवा पुस्तालाई दुव्र्यसनको दलदलमा फसाउने जोखिम बढाएको छ। “प्रहरीले चाह्यो भने यस्ता व्यक्तिलाई एक घण्टामा समात्न सक्छ, तर आँखा अगाडि अपराधी घुम्दा पनि प्रहरी प्रशासन मौन छ,” पटेर्वा सुगौलीका एक स्थानीयले नाम नखुलाउने सर्तमा भने।
वन्यजन्तु चोरी निकासी होस् वा महिला हिंसा जस्तो संवेदनशील विषय, पीडितले न्याय नपाउने र पीडकले उन्मुक्ति पाउने अवस्थाले कानुनी राज्यको उपहास भएको छ। स्थानीय बासिन्दाहरूले तत्काल नेपाल प्रहरीले जिल्लाव्यापी रूपमा ‘विशेष अपरेसन’ चलाएर फरार प्रतिवादीहरूलाई पक्राउ गर्न माग गरेका छन्।
अपराधीहरू खुलेआम हिँड्दा पीडित पक्षले थप असुरक्षित महसुस गरिरहेका छन् भने साक्षीहरूलाई समेत डर–त्रास देखाउने काम भइरहेको छ। शान्ति सुरक्षा कायम राख्न र जनतामा प्रहरीप्रतिको विश्वास जगाउन पनि फरार प्रतिवादीहरूलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा उभ्याउनु पर्ने टड्कारो आवश्यकता देखिएको छ।

