वीरगन्ज,२३मंसिरः वीरगन्ज महानगरमा सञ्चालित पाउरोटी तथा बेकरी उद्योगहरुमा बजार अनुगमन गर्दा फोहोर, खान अयोग्य तथा म्याद सकिएका पाउरोटीहरु फेला परेको छ ।
मंगलबार वीरगन्ज महानगरपालिकाको बजार अनुगमन टोलीले वीरगन्ज–८ पानीट्यांकी स्थित शक्तिमान बेकरी एण्ड फुड प्रोडक्ट्स, वीरगन्ज–११ रानिघाटस्थित शीला बेकरी उद्योग र लक्की पाउरोटी उद्योगमा पुगेर छड्के अनुगमन गरेको हो ।
अनुगमनका क्रममा मैदा मुछ्ने भााडा र ठाँउ फोहोर भेटिएको, म्याद गुज्रिएका पाउरोटी, केक, बर्फी , दुनोटहरु फेला परेको,मूल्य सूँची नटाँगिएको लगायतका लापारवाही भेटिएको अनुगमन टोलीमा सहभागी महानगरपालिकाको खाद्य अनुसन्धान अधिकृत विभा मिश्राले जानकारी दिइन् ।अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका ती सबै वस्तुहरु जफत गरी नष्ट गरिएको उनले बताइन् ।
साथै महानगरपालिकाको कार्यालयमा व्यवसाय दर्ता नगरेका र नविकरण पनि नगरेको भेटिएको भन्दै उनले ती उद्योगका सञ्चालकलाई ७ दिनभित्र महानगरपालिकाको कार्यालयमा सम्पर्क गरेर आवश्यक प्रक्रिया पूरा गर्न निर्देशनपनि दिइएको उनले बताइन् ।
अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका अध्यक्ष अजित भुजेल,वीरगन्ज् होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्त,उपाध्यक्ष रचेन्द्र थापा, वीरगन्ज महानगरपालिकाद्धारा गठित अनुगमन समितिकि सदस्य नेहा मिश्रा,वीरगन्ज उद्योग वाणिज्य संघका सचिव मनोज कुमार दासका साथै नेपाल प्रहरीकोपनि सहभागि थिए ।

