वीरगन्ज,१२असारःवीरगन्जमा शुक्रबार निकालिने ‘गहवामाई रथयात्रा’ लाई लक्षित गरेर सुरक्षाकर्मीलाई हाइ अलर्टमा राखिएको स्थानीय प्रशासनले जनाएको छ ।
वीरगन्जको प्रमुख शक्तिपीठ गहवामाई मन्दिर पुर्ननिर्माण भएको १३ औं वर्ष पूरा भएको उपलक्ष्यमा शुक्रबार ‘गहवामाई रथयात्रा’ निकालिदैंछ । उक्त रथयात्रामा एक लाख भन्दा बढी भक्तजनहरु सहभागी हुने गहवामाई मन्दिर तीर्थ क्षेत्र विकास समितिको अनुमान छ ।
वीरगन्जमै गत चैत ३० गते निकालिको हनुमान जयन्तिको शोभा यात्राका क्रममा दुई फरक धर्म समुदायकाबीच झडप हुदाँ वीरगन्ज तीनदिनसम्म तनावग्रस्त बन्न पुगेको थियो ।
त्यसैका कारण शुक्रबार निकालिन लागिएको ‘गहवामाई रथयात्रा’ का क्रममा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरेर वीरगन्जमा सुरक्षाकर्मीलाई हाइ अलर्टमा राखिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । अर्यालले भने,‘ रथयात्राको सुरक्षाका सन्दर्भमा स्थानीय प्रशासन र प्रहरी हाइ अलर्टमा छ । रथयात्राका क्रममा प्रयाप्त सुरक्षाकर्मी परिचालन गरिन्छ ।’
बिहीबार बिहानपनि आँफुसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखको टोलीले रथयात्राले परिक्रमा गर्ने रुटहरुमा स्थलगत निरीक्षण गरेर सम्भावित जोखिमहरुबारे स्केनिङ गरेको अर्यालले बताए । प्रजिअ अर्यालले भने,‘ यसबाहेक सिडिओ कार्यालयमै आयोजक समिति,वीरगन्ज महानगरपालिका प्रतिनिधी र सुरक्षा निकायका प्रमुखहरुको छलफलपनि भइसकेको छ ।’
प्रजिअ अर्यालले रथयात्राका क्रममा वीरगन्जमा नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रयाप्त संख्यामा परिचालन गरिने तथा आवश्यक परेको खण्डमा बाहिरका जिल्लाबाटपनि थप जनशक्ति मगाएर परिचालन गरिने बताए ।
गहवामाई रथयात्रालाई नै लक्षित गरेर केहिदिन अघि नेपाल प्रहरी मधेस प्रदेश प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमा चर्तुवेदीलेपनि वीरगन्जको स्थलगत निरीक्षण गरेर रथयात्राका बारेमा जानकारी लिएका थिए । त्यसैबेला उनले रथयात्राको सुरक्षामा कुनै कमी हुन नदिन र रथयात्रा अवधिभर उच्च सतर्कता अपनाउन मातहतका सुरक्षा निकायका जिल्ला प्रमुखलाई निर्देशनपनि दिएका थिए ।
यसैबिच गहवामाई मन्दिर तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेललेपनि रथयात्रामा नेपालका विभिन्न जिल्ला र सीमावर्ती भारतीय शहरबाट गरेर एक लाखभन्दा बढी भक्तजन आउने भएकाले सुरक्षाको विषय संवेदनशील भएको बताए ।
रथयात्राको तयारी बारे जानकारी दिन बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पोखरेलले सुरक्षाकै विषयलाई लिएर सुरक्षा निकायका प्रमुखहरुसंग पटक पटक छलफल गरिएको जानकारी दिए । छलफलमा सुरक्षा निकायका प्रमुखहरुले प्रयाप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिने प्रतिबद्धता जनाएको उनले बताए । यसका अतिरिक्त समितिका तर्फबाटपनि दुईसय बढी स्वंयसेवकहरु खटिने जानकारी उनले दिए ।
पत्रकार सम्मेलनमा अध्यक्ष पोखरेलले रथयात्राको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारीपनि गराए । रथयात्रा आयोजनमा करिब २० देखि २५ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको उनले बताए । उनका अनुसार, शुक्रबार बिहान गहवामाई मन्दिरमा विशेष पूजापछि बिहान ७.३० बजेदेखि रथयात्रा सुरु हुनेछ । रथयात्राले नगरका विभिन्न स्थानको परिक्रममा गर्ने र पुन मन्दिर प्रांगणमा फर्किएर समापन हुने तथा शुक्रबार नै साँझ मन्दिर प्रांगणमा धार्मिक भजनकिर्तन आयोजना गरिने उनले बताए । यस्तै शनिबार साँझ मन्दिर प्रांगणमै रथयात्राको प्रसाद वितरणका लागि ‘महाभण्डारा’पनि आयोजना गरिने जानकारी पोखरेलले दिए ।
‘गहवामाई रथयात्रा’ यात्राका लागि वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा शुक्रबार विदापनि दिएको छ ।

