Madhes Khabar
स्थानिय हेडलाइन

सामाजिक र धार्मिक सदभाव कायम राख्न चौतर्फी अपिलपछि सामान्य बन्दै वीरगन्जको अवस्था

वीरगन्ज,०३बैशाखःवीरगन्जमा दुई फरक धार्मिक समुदाय बिचको विवादका कारण गत शनिबारदेखि सृजना भएको तनावलाई अन्त्य गर्दै सामाजिक र धार्मिक सदभाव कायम राख्न चौतर्फी अपिल गरिएको छ ।

शनिबार हनुमान जन्मोत्सवको शोभा यात्राका क्रममा विवाद भई झडप भएपछि कर्फु लगाइएकोमा अवस्था सामान्य हुदैं गएपछि स्थानीय प्रशासनले आइतबारराति १२ बजेदेखि कर्फु हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । तर निषेधाज्ञा लगाइएकै बेला मंगलबार बेलुकीदेखि पुन प्रदर्शन हुन थालेपछि वीरगन्जको अवस्था पुन बिग्रिएको थियो । बुधबार बिहानैदेखि पनि चोक चोकमा टायर बालेर प्रदर्शन हुन थालेपछि वीरगन्जमा पुन तनावग्रस्त बन्यो पुग्यो ।

सोमबारदेखि अवस्था सामान्य बन्दै गरेको वीरगन्ज मंगलबार बेलुकीदेखि पुन तनावग्रस्त बन्न थललेपछि पर्साबाट संघीय सरकारमा प्रतिनिध्तव गर्ने मन्त्रीहरु, जिल्लाका राजनीतिक दल,वीरगन्ज उद्योग वाणिज्य संघ लगायतले बुधबार सामाजिक सञ्जाल मार्फत र प्रेस विज्ञप्ति जारी गर्दै वीरगन्जमा सामाजिक र धार्मिक सदभाव बिग्रन नदिन वीरगन्जबासी र धार्मिक संघसंगठनका अगुवाहरुसग अपिल गरेका हुन् ।

बुधबार बिहान खानेपानी मन्त्री प्रदीप यादव र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै वीरगन्जमा शान्ति र सद्भाव कायम राख्न अपिल गरे ।

गत शनिबार शोभा यात्रामा झडपको घटनाभएकै समयदेखि आँफुहरु स्थानीय प्रहरी प्रशासन र विभिन्न धार्मिक अगुवाहरुसंग निरन्तर संवाद र छलफल गरेर वीरगन्जमा शान्ति र सदसभाव कायम गराउन प्रयासरत रहेको दुवै मन्त्रीले जनाएका छन् । साथै उनिहरुले शनिबारको घटनाको सत्यतथ्य छानबिन गरेर दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासन र प्रहरीलाई निर्देशन पनि दिएका छन् ।

यस्तै बुधबार वीरगन्जमा बसेको सर्वदलीय बैठकपछि राजनीतिक दलहरुले संयुक्त विज्ञप्ति जारी गर्र्दै वीरगन्जमा सामाजिक सदभाव र शान्तिका लागि अपिल गरेका छन् ।समुदायमा सदियौंदेखिको भाइचारा, सामाजिक र धार्मिक सदभावसंग मिलेर बसेको वीरगन्जमा अब उप्रान्त यसलाई खण्डित गर्ने खालका अभिव्यक्ति वा टिप्पणी कुनैपक्षबाट व्यक्त नगर्न उनिहरुले अनुरोधपनि गरेका छन् ।

यसैगरि वीरगन्ज उद्योग वाणिज्य संघलपनिे शान्ति र सद्भाव कायम राख्न वीरगन्जबासीसंग अपिल गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले वीरगन्जको वर्तमानको असहज परिस्थितिलाई सबै पक्ष मिलेर समाधान गर्ने तर्फ सबैको सामूहिक भूमिका केन्द्रित हुनुपर्नेमा जोड दिएको छ । “सर्व धर्म समभाव” को मूल अभिष्टलाई प्रबद्र्धन गर्दै समाजलाई समुन्नत र सुसंस्कृत बनाएर लैजानु पर्ने दायित्व प्रत्येक नगरवासीको रहेको भन्दै संघले वर्तमानको असहज परिस्थितिमा वीरगन्जबासीलाई संयमित र सजग रहन अनुरोधपनि गरेको छ ।

यस्तै नेपाल जनता पार्टीले वीरगन्जमा धार्मिक सद्भाव बिथोलेर वीरगन्जलाई नै बदनाम गराउन खोज्ने अराजक तत्वहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ ।

त्यस्तै विश्व हिन्दु परिषद नेपाललेपनि बुधबार पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै शनिबारको घटनामा संलग्न दोषीहरुलाई कारबाही तथा वीरगन्जमा सामाजिक र धार्मिक सदभाव कायम गराउन माग गरेको छ ।

यसैबीच बुधबार नै पर्साका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुले पनि हिन्दुवादी संघसंगठनका अगुवाहरुसंग छलफल गरेका छन् । प्रमुख जिल्ला अधिकारी अर्याल,नेपाल प्रहरीका प्रहरी उपरीक्षक गौतम मिश्र र सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले हिन्दुवादी संघसंगठनका अगुवाहरुसंग छलफल गरेका हुन् ।

उक्त छलफलमा शनिबारको घटनापछि आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा गरिएको पाँच बुँदे सहमति कार्यान्वयनका विषयमा हिन्दुवादी संघसंगठनका अगुवाहरुसंग छलफल गरिएको प्रजिअ अर्यालले बताए ।उनका अनुसार, आइतबारको सर्वपक्षीय बैठकमा शनिबारका घटनाको अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिने व्याक्तिहरुलाई छुटाउन कुनै पक्षलेपनि दबाब नदिने लगायतका पाँच बुँदेसहमति भएको थियो ।

बुधबारको छलफलमा सहभागी हिन्दुवादी संघसंगठनका अगुवाहरुले उक्त पाँच बुँदे सहमति कार्यान्वयनमा आँफुहरुको सहयोग रहने सहमति जनाएको प्रजिअ अर्यालले बताए । अर्यालले भने,‘ बुधबार दिउँसोदेखि वीरगन्जको अवस्था सामान्य छ । बजार निर्वाध रुपमा खुलेका छन् । बजारमा आवगमनमा कुनै अवरोध छैन ।’

प्रजिअ अर्यालका अनुसार, गत शनिबारको घटनाको अनुसन्धानका क्रममा संकलित उक्त घटना सम्बन्धि भिडियो र तस्बिरका आधारमा अहिलेसम्म दुवै समुदायका गरी ५ जना व्याक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । उक्त घटनामा संलग्न अन्य व्याक्तिहरुको प्रहरीले खोजी गरिरहेकोपनि प्रजिअ अर्यालले बताए ।

गत शनिबार हनुमानको जन्मोत्सवको अवसरमा वीरगन्जमा निकालिएको शोभायात्रा नगरपरिक्रममा गर्ने क्रममा छपकैया पुगेपछि ढुंगामुढा भएपछि दुई समुदायबीच झडप भएको थियो । त्यसक्रममा छपकैयाका दुुई वटा बिरियानी हाउस, केहि मासु पसल, एउटा औषधि पसलका साथै निजी घरमा तोडफोड गरिएको थियो भने ८ भन्दा बढी मोटरसाइकलमा आगजनीपनि गरिएको थियो ।झडप नियन्त्रणमा लिन प्रहरीले १४५ राउण्ड अश्रु ग्यास र दुई राउण्ड हवाई फायर गरेको थियो । झडपमा प्रहरीतर्फ २५ जना र प्रदर्शनकारीतर्फ १५ जना घाइतेपनि भएका थिए ।

Related posts

निजी विधालयका ८३ जना विधार्थीको उत्तरपुस्तिका महानगरले नियन्त्रणमा लियो

MadhesKhabar

अयोध्याको राम मन्दिरका मुख्य आचार्यले भने : वीरगन्जका मेयरको चर्चा अयोध्यासम्म पनि पुगेको छ

MadhesKhabar

पोखरिया नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतकाे फेरि सरूवा,श्रीवास्तवलाई १ महिनापनि टिक्न दिएनन्

MadhesKhabar

Leave a Comment