
वीरगन्ज,२१ असोजःशनिबार र आइतबारको भीषण वर्षापछि मधेसका अन्य जिल्ला जस्तै पर्साको जनजीवन प्रभावित बन्यो। बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणालीका कारण यसपटक पर्सामा भारीदेखि अतिभारी वर्षा भयो ।
जसकारण नदी र खोलामा बाढी आउँदा पर्साका नदी र खोलासंग जोडिएका अधिकांश बस्तीहरु डुबानमा परे ।पर्सामा मानवीय क्षति नभए पनि भौतिक संरचना र सडकमा व्यापक क्षति भएको छ । सिर्सिया नदीको नदीको जलस्तर बढेर बस्तीमा पस्दा वीरगन्ज महानगरपालिकाका तीन सयभन्दा बढी घर डुबानमा परे।
वीरगन्ज महानगरपालिका वडा नम्बर ९, १०, ११, २३, २३ र २४ मा दर्जनभन्दा बढी बस्तीमा बाढी पसेको थियो । डुबानबाट प्रभावित वीरगन्ज महानगरपालिका वडा नम्बर ११ रानिघाट नदि छेउमा बस्दै आएका ५० घरपरिवारका दलित परिवार तीनदिन देखि धर्मशालामा बसीरहेका छन् । उनीहरुले सार्वजनिक धर्मशालामा सामुहिक रुपमा तीन दिनदेखि बसीरहेको बताएका छन् ।
शनिबार परेको अविरल बर्षाका कारण फुसको घरमा पानी पसेपछि सुरक्षाकर्मीहरुको आग्रहमा घरबाट बाहिरिएको शान्ति देवी डोमिनले बताईन् ।
उनका अनुसार अहिले घरमा पानी पसेपछि घर नै डुबानमा परेको छ भने घरमा रहेको सबै समाग्री नष्ट भएको अवस्था छ । आफ्नो परिवारका १५ जना सदस्यहरु अहिले धर्मशालामा बस्दै आएको बताउँदै उनले प्रहरी र स्थानीय जनप्रतिनिहरुले खाना खुवाउँदै आएको सुनाईन् । एक धुर जग्गा नभएका कारण घाडामा जमिन लिएर बनाएको अस्थायी फुसको टहरामा पानी पसेपछि सबै डुबेर बस्न नसक्ने अवस्थामा पुगीसकेकाले सरोकारवाला निकायले सहयोग गर्न उनले आग्रह गरीन ।
त्यही बस्तीकि ललसा देवी पनि अहिले घरमा बर्खाको पानी पसेपछि सार्वजनिक धर्मशालामा परिवारलाई लिएर बसेकी छन् । उनले पनि खानाको अहिले समस्या नभएपनि घर नै डुबानमा परेकाले समस्या ल्याएको गुनासो छ । अहिले उनका घरका ५ जना सदस्यहरु सार्वजनिक धर्मशलामा बसोबास गरीरहेका छन् ।
प्रहरीको आग्रहमा घरबाट निस्केर नजिक नै रहेको धर्मशालामा ९ जना परिवारका सदस्यहरु संगै हरिन्द्र मलि डोम पनि बस्दै आएका छन् ।
लगातार परेको अविरल बर्षाले घरको सबै खाद्यान्नलगायतका महत्वपूर्ण सामग्री जोगाउन नसकिएको दुःखेसो उनको छ । एकमुठी पनि खाद्यान्न निकाल्न सकिएको छैन घरमा रहेका लत्ताकपडा, कागजात सबै घरभित्रै छन् । सबैतिर डुबेका कारण घरसम्म जान सक्ने अवस्था छैन । बाढिले प्रभावित भएपछि घरमा रहेका साना बालबालिकालाई पनि धर्मशालामा बस्नु पर्दा झन समस्या भएको हरिन्द्रको दुखेसो छ ।
निरन्तरको वर्षाले स्थानीय खोलानालामा पानीको बहाव बढेका कारण घरमा ठुलो क्षति पुगेको छ । अहिले डुबानको समस्या आकाशको पानीको निकास नहुँदा भएको हो । आकाशबाट पानी परेका कारण झन्डै जिल्लाका पाँचसय घर परिवार प्रभावित भएको छ ।
डुबानमा परेका बस्तीबाट मानिसलाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गरेको पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी जानकारी दिए ।
उनका अनुसार विद्यालय, धर्मशाला, क्लबका भवनलगायतमा लगेर राखिएका उनीहरूलाई वीरगन्ज उद्योग वाणिज्य संघको समन्वय वीरगन्ज महानगरपालिकाले ड्राइफुड, पानी र आवश्यक औषधि वितरण भइरहेको प्रजिअ अर्यालले बताए । घरभित्र पानी पसेर अलपत्र परेका परिवारहरूलाई उद्धार गरेर नजिकको सुरक्षित स्थानमा राखिएको बताए ।तिवारी यादव /नयाँपत्रिका

