Madhes Khabar
खेलकुद

आदिल आलमको सानदार कमब्याक, वेस्ट इन्डिजविरुद्धको म्याचमा नसोचेको प्रदर्शन

काठमाडौ,१४असोजःतीन वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिममा फर्किएका मोहम्मद आदिल आलमले वेस्ट इन्डिजविरुद्धको दोस्रो म्याचमा सानदार प्रदर्शन गरे । उनी राष्ट्रिय टिमबाट खेल्न कति भोकाएका थिए भन्ने सोमबार रातिको खेलबाट देखिन्छ ।

आदिलले वेस्ट इन्डिजविरुद्धको दोस्रो खेलमा मौका नपाउन सक्थे, यदि नन्दन यादव घाइते भएर बाहिर बस्नु नपरेको भए । र, आदिलले नन्दनको अभाव पूर्ति मात्र गरेनन्, बोनस पनि दिए नेपाललाई । उनले बलिङमा ४ विकेट लिनुका साथै ब्याटबाट पनि छोटो केमियो इनिङ खेल्दै नेपालको स्कोर माथि उकासे । फ्यानहरूले आदिलको ब्याटबाट आशा राखेका थिए, तर बलिङबाट दिएको योगदान चाहिँ धेरै हदसम्म अनपेक्षित हो ।

नेपाली टिममा अलराउन्डरहरुको कुनै कमी छैन । खासमा भन्नुपर्दा एक–दुईजना छोडेर सबैले बलिङ र ब्याटिङ दुवै गर्न सक्छन् । टिमको सबैभन्दा ठूलो शक्ति पनि यही नै हो । अब अर्को एकजना अलराउन्डर थपिएका छन् भन्दा फरक नपर्ला ।
भर्खरै अन्तर्राष्ट्रिय क्रिकेटमा बामे सर्न थालेका बेला फिक्सिङ प्रकरणमा परेपछि आदिलको करिअर भताभुङ्ग बनेको थियो । उनी पक्राउ समेत परेका थिए । तर अदालतबाट सफाइ पाए । २०८० साल चैतमा नै अदालतले उनलाई दोषमुक्त गरे पनि राष्ट्रिय टिममा फर्किन थप डेढ वर्ष कुर्नु परेको थियो । ५ महिना मात्रै भयो उनको प्रतिबन्ध फुकुवा भएको । यो अवधिमा क्रिकेट फ्यानहरूले उनलाई टिममा फर्काउन लगातार क्यानलाई दबाब दिइरहेका थिए । क्यानले पनि त्यसको सुनवाइ गर्दै प्रक्रियागत रुपमा उनलाई राष्ट्रिय टिममा फर्काएको हो ।

राष्ट्रिय टिममा पर्नुअघि आदिललाई नेपालको ‘ए’ टिममा समावेश गरिएको थियो । ‘ए’ टिमबाट उत्कृष्ट प्रदर्शन गर्दै उनले राष्ट्रिय टिमको ढोका खोलेका हुन् । वेस्ट इन्डिजविरुद्धको पहिलो म्याचमा उनी बेन्चमा थिए । दोस्रो म्याचमा नन्दनको स्थानमा उनलाई उतारियो र आदिलले बल र ब्याट दुवैबाट आफ्नो प्रभाव देखाए ।

ब्याटिङमा आदिलसँग धेरै समय थिएन । १९.१ ओभरमा गुल्शन झा आउट भएपछि आदिल क्रिजमा आएका थिए, जतिबेला जम्माजम्मी ५ बल बाँकी थियो । यही ५ बलको उच्च सदुपयोग गर्दै एक छक्का र एक चौकासहित ११ रन जोड्न सफल भए । १९.३ ओभरमा काइल मायर्सले खराब फुलटस बल फ्याँकेका थिए, जसलाई आदिलले कडा प्रहार गर्दै स्ट्यान्डको दिशा देखाइदिए । पाँचौं बलमा उनको ब्याटको एज लागेर चौका भएको थियो ।

यही ५ बलको इनिङले मात्रै आदिलको क्षमताको पुष्टि हुँदैन । उनीसँग एउटा विस्फोटक क्षमता छ, तर प्राविधिक रुपमा कति सक्षम छन् भन्ने चाहिँ भविष्यमा उनले प्रमाणित गर्नुपर्ने हुन्छ । तब मात्रै टिममा उनको स्थानले स्थायित्व पाउन सक्छ । अन्यथा अहिले टिमभित्र प्रतिस्पर्धा निकै चर्को छ ।

आदिलले हिजो गरेको बलिङ चाहिँ एक हदसम्म सरप्राइज हो । आदिलले ४ ओभरमा २४ रन मात्रै खर्चेर ४ विकेट लिए । उनलाई भाग्यले पनि साथ दियो । आदिलले आफ्नो पहिलो ओभरमा किल मायर्सको विकेट हात पार्नुमा कुशल भुर्तेलको ठूलो योगदान छ । आदिलको बलमा मायर्सले गरेको कडा प्रहारलाई भुर्तेलले अविश्वसनीय तरिकाले हावामा उडेर अँठ्याएका थिए ।

दोस्रो विकेटका रूपमा आदिलले अकिम अगस्तेलाई बोल्ड गरे । यो बल भने घातक थियो । ब्याट्सम्यान पूर्णरुपमा बिट भए र बलले स्टम्पलाई हिर्कायो । बाँकी दुई विकेट आदिलले औसत बलमा प्राप्त गरेका थिए । जे होस आदिलले आफू कामचलाउ वा पार्टटाइम बलर मात्र होइन भन्ने देखाए ।

आदिलको हिजोको प्रदर्शनले नेपालको बलिङ आक्रमण पनि निकै बलियो र सन्तुलित देखिएको छ । नेपालको स्पिन सधैँ भरपर्दो भए पनि फास्ट बलिङ त्यति धारिलो मानिँदैन । पछिल्लो समय नन्दन यादवले त्यो कमी पूर्ति गर्ने संकेत देखाएका छन् । हिजो प्रमुख फास्ट बलर नन्दन र प्रमुख स्पिनर सन्दीप लामिछाने नहुँदा पनि नेपालले वेस्ट इन्डिजलाई सस्तैमा आउट गर्नु निकै राम्रो लक्षण हो ।साभारःनेपालप्रेस

Related posts

फेरि अभागी साबित भयाे बेंग्लाेर, ४ विकेटकाे जित हात पार्दै राजस्थान दोस्रो क्वालिफायरमा

MadhesKhabar

भारत ४६ रनमै अलआउट

MadhesKhabar

वीरगन्जमा जारी `नेशनल इन्फोटेक कप´ : बिपिसी कलेजकाे विजयी सुरुवात

MadhesKhabar

Leave a Comment