वीरगन्ज,११ असोजःपर्साको सखुवा प्रर्सानी गाँउपालिकाको औराहा पचगावामा शनिबार थारु कल्याण्कारी सभा पर्साको आयोजनामा विजयादशमी, दीपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
औराहा पचगावास्थित दीपनारायण आदर्श नमुना माध्यमिक विद्यालयमा थारु कल्याणकारी सभा पर्साका अध्यक्ष भागवत चौधरी थारुको अध्यक्षता तथा सभाका केन्द्रीय सदस्य महेन्द्र चौधरी थारुको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सभा पर्साका अध्यक्ष भागवत चौधरी थारुले चाडपर्वहरू संस्कृतिको पहिचान मात्र नभई सामाजिक एकता र सद्भाव कायम गर्ने माध्यमपनि भएको बताए।चाडपर्वले परिवार रसमाजमा खुशी र उमङ्गका साथै परिवार, छिमेकी र समाजसँग अझ नजिक बनाउने गरेको भन्दै उनले चाडपर्वलाई मर्यादित, अनुशासित र भव्य ढंगले मनाउनु पर्ने र यसले भावी पुस्तालाई असल संस्कृतिको पाठपनि सिकाउने गरेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि तथा सभाका केन्द्रीय सदस्य महेन्द्र चौधरी थारुले चाडपर्वलाई मनोरञ्जन मात्र नभई संस्कृतिको धरोहरका रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिए । उनले भने “हाम्रो समाजमा विविधता छ, तर यस्ता चाडपर्वहरूले हामीलाई एउटै डोरीमा बाँध्ने काम गर्छन्। आगामी पुस्ताले चाडपर्वको वास्तविक मूल्य बुझेर अघि बढ्नुपर्ने आवश्यकता छ।”
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर महतो थारु, थारु कल्याणकारी सभा पर्साका उपाध्यक्ष राजु चौधरी थारु र मोहन दास थारु, अधिवक्ता अभय दास थारु तथा सभा पर्साका सचिव मनोज चौधरी थारुले समेत आफ्नो विचार राख्दै चाडपर्वले ल्याउने सामाजिक, सांस्कृतिक र ऐक्यबद्धताका सन्देशबारे जानकारी गराए।
विद्यालयका प्रधानाध्यापक शिवनाथ प्रसाद थारुको विशेष पहलमा आयोजित कार्यक्रमको संयोजन थारु समाज पर्सा परिवारले गरेको थियो।

