
वीरगन्ज,२३चैतःकपिलवस्तुको महाराजगन्जका–२ बरगदामा चैत ७ गते दुई धर्म समुदायबीचको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएर उपचारका क्रममा मृत्यु भएका हिन्दु युवकलाई शहिद घोषणा गर्न माग गरिएको छ ।
चैत ७ गते दुई फरक धर्म समुदायबीच भएको झडपका क्रममा प्रहरीले हानेको गोली पेटमा लागेर गम्भीर घाइते भएका महराजगन्ज नगरपालिकाको भुटहनियाका २२ वर्षीय जितेन्द्र यादवको चितवन मेडिकल कलेजमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो ।
उनको मृत्युपछि सोमबार हिन्दुवादी संगठन राष्ट्रिय एकता दलले एक विज्ञप्ति जारी गर्दै मृतक यादवलाई शहिद घोषणा गर्न माग गरेको हो । राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले जारी गरेको विज्ञप्तिमा यादवलाई तत्काल शहीद घोषणा गर्न, मृतक परिवारलाई उचित क्षतिपूर्ति तथा जीवनभरि पालनपोषणको व्यवस्था गर्न, घटनामा संलग्न प्रहरीमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न, धार्मिक आस्थामाथि आक्रमण गर्ने दोषीहरूलाई पक्राउ गर्न तथा देशभर धार्मिक सद्भाव कायम गर्न प्रभावकारी कदम चाल्न सरकारसंग माग गरिएको छ।
अध्यक्ष यादवले शान्तिपूर्ण आन्दोलनमा सहभागी नागरिकमाथि गोली प्रहार हुनु लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लंघन भएको उल्लेख गर्दै यस्तो कार्यप्रति कडा शब्दमा भत्र्सना पनि गरेका छन् ।

