वीरगन्ज,११असोजःवीरगन्ज महानगरपालिका वडा नम्बर ३१ बेल्वामा रहेको एक चिरान मिल(स मिल) मा सशस्त्र प्रहरी र वन कार्यालयको टोलीले छापा मारेर ठूलो परिमाणमा अवैध काठ बरामद गरेको छ । बेल्वामा रहेको चिरान मिलमा वन कार्यालय र सशस्त्र प्रहरीको टोलीले छापा मारेर ५ थान गोलिया (१८ घनफिट)काठ बरामद गरको हो । त्यसक्रममा चिरान मिलाबाट दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ पनि गरेको छ ।
सब डिभिजन वन कार्यालय सबैया र सशस्त्र प्रहरी बेस क्याम्प सोलकपुरको संंयुक्त टोलीले चिरान मिलमा छापा मारेर ५ वटा गोलिया काठसहित वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ प्रसौनीका क्यामोदिन मिया हजाम र वडा नम्बर २८ का जयलाल ठाकुरलाई पक्राउ गरेको हो । काठसहित पक्राउ परेका दुवै जनालाई डिभिजन वन कार्यालय पर्सामा राखेर अनुसन्धान भइरहेको रेन्जर भुपाल रोकायाले बताए ।चिरान मिलमा काठ ल्याएर बेच्नहरुको खोजी भइरहेको पनि उनले बताए ।
सशस्त्र प्रहरी बेस क्याम्प सोलकपुरका सशस्त्र प्रहरी नायब निरीक्षक लोकबहादुर कार्कीका अनुसार,बिहान विशेष सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी र वन कार्यालयको संयुक्त टोलीले चिरान मिलमा पुगेर छापा मारेको थियो । तर टोली पुग्नुभन्दा पहिले नै उक्त चिरान मिलमा काठ ल्याएर झार्ने पिकअप भ्यान त्यहाँबाट गइसकेको थियो । उक्त पिकअप भ्यानको नम्बर खुल्न नकसकेपनि त्यसको खोजी कार्य भइरहेको उनले बताए ।
स्थानीयबासीका अनुसार,सशस्त्र प्रहरी र वन कार्यालयको टोली चिरान मिलमा पुग्नु अगावै ना १३ प १०४८ नम्बरको पिकअप भ्यानबाट उक्त काठ ल्याएर चिरान मिलमा झारिएको थियो।