
जनकपुरधाम,२८भदाैं:मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाएको छ । शनिबार जनमत पार्टीका संसदीय दलको नेता महेशप्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई मधेस सरकारबाट फिर्ता बोलाएका हुन् । उनले मधेस सरकारलाई दिएको सर्मथन पनि फिर्ता लिएको जानकारी दिए । मुख्यमन्त्री र मन्त्री फिर्तासम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ ।
गएको सोमबार जेनजी प्रदर्शन हुँदा मंगलबार मुख्यमन्त्री सतिशकुमार सिंहले फेसबुकमै राजीनामा दिएका थिए । तर उनले प्रदेश प्रमुखको कार्यालयमा लिखित राजीनामा भने दिएका थिएनन् ।आज(शनिबार) केही सञ्चारमाध्यममा मुख्यमन्त्री सिंहले राजीनामा नदिने अडान लिएपछि पुनः जनमत पार्टीको आलोचना सुरु भएको थियो ।
मधेस प्रदेशमा जनमत नेतृत्वको सरकारमा एमाले, कांग्रेस र लोसपा सत्तासाझेदार छन् भने जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, नेसंस र नाउपा प्रतिपक्षमा थिए ।
मधेस प्रदेश सरकारमा जनमत पार्टीबाट वन तथा वातावरण मन्त्रालयमा सञ्जय यादव र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी बसन्त कुशवाहाले लिएका थिए ।

