वीरगन्ज,१२ भदौं :झाडापखाला र हैजा प्रभावित वीरगन्जमा अस्पतालमा उपचारपछि निको भएर घर फर्किने बिरामीको संख्यापनि दिनहुँ बढ्दै गएको छ ।
वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, बिहीबार साँझसम्म विभिन्न अस्पतालबाट उपचारपछि निको भएर ४३४ जना घर फर्किइसकेका छन् । तीमध्ये हैजाको संक्रमण पुष्टि भएका ७४ जना पनि निको भएर घर फर्किएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरले जानकारी दिए ।
गत शुक्रबारदेखि बिहीबार साँझसम्म झाडापखाला र हैजा संक्रमण पुष्टिभएका गरी ६१२ जना बिरामी अस्पतालहरुमा भर्ना भएकामा तीमध्ये ४३४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएको ठाकुरले बताए ।
हाल अस्पतालहरुमा १७८ जना बिरामीहरु उपचाररत रहेको र तीमध्ये हैजा पुष्टि भएका बिरामीको संख्या ६९ मात्रै रहेको ठाकुरले जानकारी दिए ।
बिहीबारसम्म नारायणी अस्पतालबाट २२९ जना, वीरगन्ज हेल्थकेयर हस्पिटलबाट ५३ जना, तराई हस्पिटलबाट ४० जना ,नेशनल मेडिकल कलेजबाट ३२ जना ,प्रभु हस्पिटलबाट १७ जना ,एडभान्स मेडिकेयर हस्पिटल र सर्वोत्तम हस्पिटलबाट १४÷१४ जना बिरामीहरु निको भएर डिस्चार्ज भई घर फर्किएको ठाकुरले बताए ।
ठाकुरका अनुसार, आरडीटी किट टेष्टबाट गरिएको परीक्षणबाट बिहीबार थप ९ जनामा मात्रै हैजाको संक्रमण पुष्टि भएको छ । गत शुक्रबारदेखि बिहीबार साँझसम्म वीरगन्जमा कूल १४३ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको ठाकुरले जानकारी दिए ।हालसम्म नारायणी अस्पतालमा ४९ जना , तराई हस्पिटलमा ४६ जना , नेशनल मेकिडल कलेजका २०, वीरगन्ज हेल्थकेयर हस्पिटलमा ७ , भवानी अस्पतालमा ४ , मंगलम प्यथोलोजीमा ४, अलि अर्थो अस्पतालमा २ , एडभान्स मेडिकेयर हस्पिटलमा २ ,प्रभु हस्पिटलमा २, नेपाल इण्डोहपस्टिलमा १, नीलकण्ठ हस्पिटलमा १ , सर्वोत्तम अस्पतालमा १ , नेपाल मेडिसिटी बयोधा अस्पतालमा १ ,बगही प्राथमिक स्वाथ्य केन्द्रमा १ जनामा हैजाको संक्रमण पुष्टि भएको हो ।
यस्तै बिहीबार झाडापखाला र हैजाका गरी थप ८४ जना बिरामी विभिन्न अस्पतालमा भर्ना भएको जानकारी ठाकुरले दिए ।बुधबार भने झाडापखाला र हैजाका गरी १०६ जना बिरामी विभिन्न अस्पतालमा भर्ना भएका थिए ।

