वीरगन्ज,१२ भदौं : वीरगन्ज महानगरपालिकाले आफ्नै प्रयोगशाला (ल्याब) मा गरेको झाडापखाला र हैजा संक्रमित स्थलको पानी परीक्षणमा झाडापखाला वा हैजा फैलाउने फैलाउने जीवाणु नरहेको पुष्टि भएको छ ।
वीरगन्ज महानगर–१ छपकैयास्थित खानेपानी प्रशोधन केन्द्रमै स्थापना गरिएको आधुनिक प्रयोगशालामा हैजा प्रभावित वडा नमबर १०, ११ र १२ का सात स्थानका धाराको पानीबाट लिइएका सबै नमूनाको प्रतिवेदन ‘नेगेटिभ’ आएको हो। माइक्रोबायोलोजिष्ट अजय मण्डलको प्राविधिक नेतृत्वमा भइरहेको परीक्षणमा हाल इ.कोली परीक्षण गरिएको हो ।
पछिल्ला दिनमा झाडापखाला तथा हैजाको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि महानगरले तत्कालीन जोखिमलाई ध्यानमा राख्दै आफ्नै प्रयोगशालामा पानी परीक्षण सुरु गरेको हो ।महानगरले हैजा प्रभावित वडा नम्बर १०, ११ र १२ का विभिन्न सात स्थानका धाराबाट पानीको नमूना संकलन गरी परीक्षण गरेको थियो। तीमध्ये तीनवटा बोरिङ र चारवटा खानेपानी संस्थानका धाराबाट पानीको नमूना संकलन गरिएको थियो। सबै सात नमूनामा झाडापखाला र हैजा फैलाउने इ.कोली जीवाणु फेला नपरेको महानगरले जनाएको हो ।
यसअघि मधेस प्रदेश प्रयोगशालामा पठाइएका १० वटा नमूनामा पनि जीवाणु फेला नपरेको पुष्टि भएको थियो ।यस्तै युनिसेफको सहयोगमा कोलीफर्म परीक्षण पनि सुरु भएको छ। यसको प्रतिवेदन शुक्रबारसम्म आउने जनाइएको छ।
महानगरको वातावरण निरीक्षक प्रकाश ऐरसहितको प्राविधिक टोलीले संकास्पद क्षेत्रमा पुगेर धाराको पानी संकलन गर्दै नियमित परीक्षण गर्ने कामलाई तीव्रता दिएको छ। कुन क्षेत्रमा दूषित पानी प्रवाह भइरहेको छ भन्नेबारे यथाशीघ्र जानकारी प्राप्त गर्न र तत्काल आवश्यक कदम चाल्न सहज हुने भएकाले महानगरले आफ्नै स्तरमा परीक्षण अघि बढाएको हो।
महानगर प्रमुख राजेशमान सिंहले संक्रमण नियन्त्रणलाई पहिलो प्राथमिकता दिइएको उल्लेख गर्दै सुरक्षित खानेपानी नै हालको मुख्य आवश्यकता भएको बताए । उनका अनुसार नागरिकलाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले आफ्नै प्रयोगशालाबाट परीक्षण सुरु गरिएको हो । अत्यधिक प्रभावित क्षेत्रमा प्रयोग हुने धारामा प्राथमिकता दिँदै परीक्षण भइरहेको छ भने आवश्यकता अनुसार अन्य संकास्पद स्थानका नमूनासमेत संकलन गरी परीक्षण गरिने महानगरले जनाएको छ।

