Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जमा आएका स्वास्थ्यमन्त्री पौडेलको निर्देशन : हैजा फैलिनुको कारण छिट्टो पत्ता लगाउनुस्

वीरगन्ज,९ भदौं : संघ सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वीरगन्जमा झाडा पखाला र हैजाले संक्रमित बिरामीहरुको उपचारमा कुनैपनि समस्या हुन नदिन सरकार लागि परेको बताएका छन् ।

झाडापखाला र हैजाको महामारीले प्रभावित वीरगन्जका अस्पतालहरुमा सोमबार निरीक्षण गरेपछि नारायणी अस्पतालमा आयोजित छलफल कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले भने,‘ उपचारमा कुनैपनि समस्या हुन नदिने प्रयत्न सरकारले गरिरहेको छ ।

सरकारी अस्पतालमा महामारीका बिरामीको उपचार सरकारले पूर्ण रुपमा निःशुल्क गरेको उनले बताए । तर सोमबार नारायणी अस्पतालमा निरीक्षणका क्रममा मन्त्री पौडेललाई केहि बिरामीका कुरुवाले बाहिरबाट औषधि किनेर ल्याउनु परेको गुनासो गरेका थिए ।त्यहि गुनासोका आधारमा अस्पतालका चिकित्सकहरुलाई लक्षित गर्दै मन्त्री पौडेलले भने,‘ बिरामी वा कुरुवाले कुनैपनि औषधि किन्न नपर्ने र परिक्षणको पनि कुनै शुल्क नलाग्ने अवस्था बनाउनु होला । बिरामीलाई राज्यले दिनुपर्ने सहुलियत दिनु होला ।

उनले महामारी प्रभावित वीरगन्जमा बिरामीको उपचारमा अस्पतालमा औषधि र जनशक्तिको अभाव हुन नदिने प्रतिबद्धतापनि जनाए ।निजी अस्पतालहरुलाई पनि व्यपार भन्दापनि सेवाभावले बिरामीको उपचार गरिदिन उनले आग्रह गरे । मन्त्री पौडेलले भने,‘अहिले विपदको बेलामा निजी अस्पतालले पनि मानवीयताको ख्याल गरेर व्यपारभन्दा पनि सेवाभाव राखेर बिरामीको उपचार गरिदिनुस्।समाजका लागि काम गरेर देखाउने बेला नै यहि हो ।’उनले निजी अस्पतालहरुमा सरकारले कीट उपलब्ध गराउने निर्णय गरिसकेको जानकारीपनि दिए।

वीरगन्जमा समुदायस्तरमै झाडापखाला र हैजाको संक्रमण फैलनुको यकिन कारण अहिलेसम्मपनि पत्ता लाग्न नसकेकोमा उनले चिन्तापनि व्यक्त गरे । समुदायस्तरमै यो संक्रमण फैलनुको कारण छिट्टै पत्ता लगाउन जरुरी रहेको उनले बताए । उनले भने,‘ कारण नै पत्ता लाग्न सकेन भने समाधानको उपाय खोज्न सकिदैन । यदि कारण बेलैमा पत्ता लगाउन सकियो भने यो संक्रमणलाई अझ फैलन नदिनबाट रोक्न सकिन्छ ।’

झाडपखाला र हैजाको महामारी फैलनुको कारण पत्ता लगाउनका स्वास्थ्य मन्त्रालयले विज्ञ र प्राविधिकसहितको टोली वीरगन्जमा परिचालन गरिसकेको र उक्त टोलीले कामपनि सुरु गरिसकेको उनले बताए ।

अस्पतालको निरीक्षणका क्रममा रहेका मधेस प्रदेशका भूमी,सहकारी तथा कृषिमन्त्री जनार्दन सिंह क्षेत्रीले वीरगन्जमा झाडापखाला र हैजाको संक्रमण फैलिएको विषय संवेदनशील भएको बताए । यसको रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारपनि गम्भीर भएर लागेको उनले जनाए ।

प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले वीरगन्जमा केहि औषधिहरुको व्यवस्थापन गरिसकेको भन्दै उनले प्रदेश सरकारले विज्ञसहितको टोलीपनि वीरगन्जमा खटाइसकेको बताए । संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघ तीन वटै तहका सरकार मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेकोमा मन्त्री क्षेत्रीले जोड दिए ।

त्यसअवसरमा स्वास्थ्यमन्त्री पौडेललाई वीरन्ज महानगरपालिका मेयर राजेशमान सिंहले संक्रमण नियन्त्रण र रोकथामका लागि प्रदेश र संघ सरकारसंग सहमन्वय गरेर वीरगन्ज महानगरपालिकाले युद्धस्तरमा काम गरिरहेको जानकारी बताए ।उनले वीरगन्जमा संक्रमण नियन्त्रणतर्फ उन्मुख रहेपनि केहि मिडियाले नागरिकलाई त्रसीत पार्ने गरि हौवा सृजना गरिरहेको भन्दै यसबारेमा मन्त्री पौडेलको ध्यानाकर्षण पनि गराए ।

नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताको अध्यक्षतामा भएको उक्त छलफलमा स्वास्थ्य कार्यालय पर्साका जनस्वस्थ्य अधिकृत जयमोद ठाकुर, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण , नारायणी अस्पतालका मेसु डा. चुमनलाल दास, सुचना अधिकारी डा. उदयनारायण सिंह, डा. नीरज सिंह लगायतले संक्रमणको अवस्था र त्यसको रोकथाम र नियन्त्रणका लागि गरिरहेको पहलबारे मन्त्री पौडेललाई जानकारी गराएका थिए । छलफलमा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र,सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्ट लगायतकाकोपनि सहभागिता थियो ।

 

 

Related posts

वीरगन्जमा ५४ जना अपाङगता भएका व्याक्तिहरुलाइ ह्वील चेयर सहयोग

MadhesKhabar

स्वास्थ्य कार्यालय पर्सा मधेस प्रदेशमा लगातार ४ वर्षदेखि प्रथम

MadhesKhabar

९ महिनामा पर्साका सरकारी कार्यालयहरुको पुँजीगत खर्च २८ प्रतिशतमात्र

MadhesKhabar

Leave a Comment