Madhes Khabar
धर्म/संस्कृति स्थानिय हेडलाइन

वीरगन्जमा सामाजिक सदभाव कायम गर्न हिन्दु–मुस्लिम अगुवाले ५ बुँदे सहमति गरेसंगै कर्फु पनि हट्यो

वीरगन्ज,२२पुसःदुई फरक समुदायबीचको तनावका कारण अशान्त बनेको वीरगन्जमा धार्मिक र सामाजिक सद्भाव कायमका लागि ५ बुँदे सहमति भएको छ।

जिल्ला प्रशनसन कार्यालय पर्सामा मंगलबार सुरक्षा निकायका प्रमुखहरुको रोहबरमा बसेको हिन्दु र मुस्लिम समुदायका अगुवाहरु सम्मिलित सर्वपक्षीय बैठकमा सामाजिक सद्भाव कायम गर्ने लगायतका ५ बुँदे सहमति गरिएको हो।उक्त सहमति पत्रमा हिन्दु र मुस्लिम धर्मका अगुवा,जिल्लामा क्रियाशील राजनीतिक दलका नेताहरुले पनि हस्ताक्षर गरेका छन्।

५ बुँदे सहमति भएसंगै वीरगन्जमा सोमबारदेखि लगाइएको कर्फू मंगलबार अपरान्ह ३.३० बजेदेखि हटाइएको छ ।गत आइतबारदेखि अशान्त बनेको वीरगन्जमा मंगलबार अपरान्ह ३.३० बजेदेखि कर्फु हटाएसंगै भने जनजीवन सामान्य बन्दै गएको छ । बजारहरु खुलेका छन् भने सडकमा आवागमन पनि सुचारु बनेको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वक्षीय बैठकमा भएको ५ बँुदे सहमतिमा अन्य मुलुक वा नेपालकै अन्य जिल्लामा हुने धार्मिक वा सामाजिक घटना÷दुर्घटनाको विषयलाई लिएर वीरगन्जमा प्रदर्शन वा आन्दोलन नगर्ने, गर्नै परेको खण्डमा सम्बन्धित पक्षले जिल्ला प्रशासन कार्यालयबाट अग्रिम अनुमति लिई प्रमुख जिल्ला धिकारीसमक्ष ज्ञापन पत्र पेस गर्न जोड दिने, त्यसपछि मात्रै आन्दोलनको कार्यक्रम गर्ने उल्लेख छ ।

यस्तै भविष्यमा हुन सक्ने धार्मिक र सामाजिक सद्भावविरुद्धका गतिविधिहरुलाई नियन्त्रण गर्न हिन्दु र मुस्लिम अगुवा लगायत सम्मिलित सदभाव समितिपनि गठन गरिएको छ । उक्त सदभाव समितिमा हिन्दु समुदायका तर्फबाट रन्जित साह र रन्जन सिंह,मुस्लिम समुदायका तर्फबाट महमद महबुब अलि (शेरु) र मौलाना असगर मदनी, राजनीितक दलका एक एक जना प्रतिनिधि, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष , नागरिक सामाजका एक जना प्रतिनिधिलाई रहेका छन् ।

उक्त सदभाव समितिले भविष्यमा हुन सक्ने धार्मिक र सामाजिक सद्भावविरुद्धका गतिविधिहरुलाई नियन्त्रण गर्ने तथा आवश्यक कानूनी कारबाहीका लागि कानूनी निकायमा सिफारिस गर्ने सहमतिपनि गरिएको छ ।

यसैगरि सर्वपक्षीय बैठकमा सञ्चारकर्मीहरुलाई समाचार सम्प्रेषण गर्नुपूर्व धार्मिक, सांस्कृतिक रसामाजिक सद्भावमा खलल नपुग्ने गरी सामाचार सम्प्रेषण गर्न अनुरोध गर्ने,धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव बिथोल्न दुरुत्साहन गर्ने समूह÷ आन्दोलनकारीलाई कानूनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने,सबै पक्षले आ–आफ्नो समूहको तर्फबाट भएका कमजोरीको मनन गर्दै आ–आफ्नो समुदायका व्यक्तिलाई अनुशासन र आत्मसंयम तथा सद्भाव कायम राख्न अपिल गर्ने सहमति पनि गरिएको छ ।

वीरगज्जमा साथै विद्यमान परिस्थितिलाई सहज बनाउन सबैले आ–आफ्नो स्थानवाट सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्दै थप विरोध कार्यक्रमहरु नगर्ने बुदाँपनि ५ बुँदे सहमतिपत्रमा उल्लेख रहेको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।

सर्वपक्षीय बैठकमा ५ बुँदे सहमति भएपछि वीरगन्जमा सोमबार देखि लगाइएको कर्फु आदेश मंगलबार अपरान्ह ३.३० बजेदेखि हटाइएको पनि प्रजिअ दाहालले जानकारी दिए ।

गत शनिबार धनुषमा मस्जिदमा तोडफोड गरिएको घटनाको विषयलाई लिएर वीरगन्जमा गत आइतबारदेखि दुई फरक समुदायको प्रदर्शन कारण अवस्था तनाग्रस्त बनेपछि सोमबार दिउँसो १ बजेदेखि वीरगन्जमा निषेधाज्ञा र त्यसपछि कर्फु लगाइएको थियो ।

Related posts

पर्सा–बारा ओैद्योगिक क्षेत्रमा विद्युत आपूर्ति नियमित गर्न उद्योगीहरुको माग

MadhesKhabar

पटेर्वासुगौली–५ मा नेकपा एमालेको क्षेत्रीय सम्पर्क कार्यालय उद्घाटन

MadhesKhabar

होलीको उपलक्ष्यमा अभिभावक संघले आयोजना गरेको कार्यक्रममा ७५ जनाद्वारा रक्तदान

MadhesKhabar

Leave a Comment