वीरगन्ज,०७ भदौं : वीरगन्ज महानगरमा समुदायस्तरमै हैजाको संक्रमण फैलन थालेपछि यहाँ रहेका विद्यालयहरु दुई दिनका लागि बन्द गरिएको छ ।दुई दिन यता वीरगन्जको शहरी वडाहरुमा झाडापखालासंगै हैजाका बिरामीहरुको संख्या निरन्तर बढ्दै गएपछि त्यसको नियन्त्रण र रोकथामा जुटेको वीरगन्ज महानगरपालिकाले भदौं ८ र ९ गते दुई दिनका लागि सम्पूर्ण विद्यालयहरु बन्द गरेको हो ।
विगत केही दिनदेखि बढ्दै गएको हैजाको संक्रमणलाई मध्यनजर गर्दै भदौं ८ र ९ गते दुई दिनका लागि वीरगन्ज महानगरका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले जानकारी दिए।
उनका अनुसार,महानगर क्षेत्रभित्र हालका लागि पानीपुरी, चाट, चटपटे (भाजा) आदिको बिक्री वितरणमा पनि रोक लगाइएको छ ।खुल्ला रुपमा बिक्री वितरण हुदैं आएका यस्ता खाद्यपदार्थमा प्रयोग हुने पानी दूषित भई हैजाका जीवाणु मिसिने सम्भावना भएकाले ती खाद्यपदार्थ बिक्रीवितरणमा रोक लगाइएको कर्णले जानकारी दिए ।
वीरगन्ज महानगरपालिकामा शनिबार बिहान मेयर राजेशमान सिंहले वीरगन्जका अस्पतालहरुका प्रतिनिधीहरुसंग गरेको आकस्मिक बैठकले हैजाको रोकथाम र नियन्त्रणका लागि स्थानीय स्तरमा सचेतना फैलाउन र तत्काल रेस्पोन्स गर्नका लागि स्वास्थ्यकर्मीहरुको २५ वटा टोली गठन गरेर परिचालन गर्ने निर्णयपनि गरेको छ ।
यसका साथै हेल्प डेस्क र सुचना केन्द्र स्थापना गर्ने निर्णयपनि गरिएको जानकारी दिदैं कर्णले कुनै समस्या परे त्यसका लागि हेल्प डेस्कको मोबाइल नम्बर ९८४५१११९९९ सार्वजनिक पनि गरिएको जानकारी दिए । बैकठमा मेयर राजेशमान सिंहले झाडापखाला वा हैजाका बिरामीको उपचारमा गम्भीरताका साथ लाग्न अस्पतालहरुलाई निर्देशन दिए । उनले भने,‘कोहिपनि बिरामी बेड नपाएर उपचारबाट बञ्चित भएको मैले सुन्न नपरोस् । यो संकटको घडीमा अस्पताल र डाक्टरहरु गम्भीर भइदिनु होला ।मावनतापनि देखाइ दिनु होला ।’
अस्पतालका प्रतिनिधिहरुसंगको आकस्मिक बैठकअघि शनिबार बिहान नै मेयर सिंहले महानगरपालिकाका ३२वटै वडाका स्वास्थ्यकर्मीहरुसंगपनि छुट्टै बैठक गरेका थिए । उक्त बैठकमा मेयर सिंहले झाडापखाला र हैजाको संक्रमित क्षेत्रमा प्राथमिकताका आधारमा खटिएर काम गर्न निर्देशन दिए । आकस्मिक अवस्था व्यवस्थापनका लागि स्वास्थ्यकर्मी, औषधि, एम्बुलेन्स तथा अन्य सवारीसाधन पनि स्ट्यान्डबाइमा राखिएको भन्दै उनले अहिले वीरगन्ज महानगरको १ देखि १६ नम्बर वडा हैजाको बढी जोखिमयुक्त क्षेत्र मानिएको बताए । ती वडामा घर–घरमै पुगेर सचेतना फैलाउने, सरसफाइमा जोड दिने र उपचारमा ल्याउने कार्यमा जुट्न स्वास्थ्यकर्मीहरुलाई उनले निर्देशन दिए ।
महानगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार, शुक्रबारदेखि शनिबार दिउँसो १ बजेसम्मको प्राप्त रिपोर्ट अनुसार १७ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ ।तराई हस्पिटलमा ८ , नारायणी अस्पतालमा ५ , नेशनल मेडिकल कलेजमा ३ र अलि अर्थो सेन्टरमा १ गरी हालसम्म १७ जना बिरामीमा हैजाको संक्रमण पुष्टि भइसकेको उनले जानकारी दिए ।हैजा पुष्टि भएका बिरामीहरु वडा नम्बर ११,१२ ,१३ र १४ का रहेको उनले बताए । वीरगन्ज विभिन्न अस्पतालमा अहिले झाडापखाला र हैजाका शंकास्पद बिरामी गरी २ सय भन्दा बढी उपचारत रहेको उनले बताए ।

