Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जका धार्मिक सम्पदा संरक्षणका लागि समिति गठन, सबै धार्मिक स्थलहरु अनिवार्य सूचिकृत हुनुपर्ने

वीरगन्ज,५ भदौं :वीरगन्ज महानगरपालिकाले महानगर क्षेत्रमा रहेका मठ–मन्दिर, मस्जिद तथा चैत्य–गुम्बाको संरक्षण तथा व्यवस्थापनको कामलाई संस्थागत रूपमै अघि बढाउने भएको छ। यसका लागि महानगरले विशेष सम्पदा व्यवस्थापन समिति गठन गरेको छ।

महानगरले ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदाहरूको दीगो संरक्षण गर्ने उद्देश्यसहित सम्पदा व्यवस्थापन सम्बन्धी ऐन नै निर्माण गरी कार्यान्वयनमा ल्याएको छ। अब महानगरका ३२ वटै वडामा रहेका सम्पूर्ण मठ–मन्दिर, मस्जिद तथा चैत्य–गुम्बाको अभिलेख संकलन गरी सूचिकृत गर्ने तयारी गरिएको छ।

यसका लागि प्रत्येक वडा कार्यालयमार्फत तथ्यांक संकलनको प्रक्रिया सुरु हुनेछ। अभिलेख संकलन कार्य सम्पन्न भएपछि सम्पदाहरूलाई अनिवार्य रूपमा सूचिकृत गरी संरक्षण र संवद्र्धनका लागि दीर्घकालीन कार्ययोजना अघि बढाइने महानगरले जनाएको छ।

समितिको संयोजक महानगरका मेयर राजेशमान सिंह रहेका छन्। उउक्त समितिमा उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, वडा अध्यक्षहरु जगत साह कानु र प्रदीप चौरसिया, कलावती राजपुतिन, श्रीनन्दन मिश्र र जय किशोर पाण्डे सदस्यका रूपमा रहेका छन् ।सदस्य सचिवमा शाखा अधिकृत सुशीला देवकोटा रहेकी छन् । समितिका सदस्यहरूलाई बिहीबार पत्र हस्तान्तरण गरी जिम्मेवारी प्रदानसमेत गरिएको छ।

महानगरका मेयर सिंहका अनुसार धार्मिक सम्पदाहरू व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गर्न अनिवार्य रूपमा सूचिकृत गरिनेछ। हाल महानगरभित्र रहेका कतिपय मठ–मन्दिर, मस्जिद तथा गुम्बाहरू व्यक्तिगत स्वार्थअनुसार मनपरी ढंगले सञ्चालन हुँदै आएको बताउँदै मेयर सिंहले अब भने ती सम्पदाहरूलाई नियमन गर्ने र श्रद्धालु भक्तजनहरूले चढाएको दान–चन्दा दुरुपयोग हुन नदिन कडाइका साथ प्रावधानहरू लागू गरिने जानकारी दिए ।

सिंहले भने, “हाम्रो उद्देश्य सम्पदाको संरक्षण मात्र होइन, पारदर्शिता र धार्मिक संस्थाहरूको दीगो विकास सुनिश्चित गर्नु हो। भक्तजनले गरेको दान–चन्दा त्यही सम्पदाको संरक्षण तथा संवद्र्धनमै खर्च हुने वातावरण सिर्जना गर्नुपर्छ।”

समितिले आगामी दिनमा प्रत्येक वडामा रहेका सम्पदाको लगत संकलन गरी सूची सार्वजनिक गर्ने र त्यसका आधारमा संरक्षण तथा व्यवस्थापनका कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ। यसबाट धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूको दीर्घकालीन संरक्षण हुने अपेक्षा छ।

साथै यसले धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षणमार्फत शहरको पहिचान सुरक्षित हुने विश्वास महानगरको रहेको छ ।

 

Related posts

नेपाल आउने भारतीय पर्यटकको सहजताका लागि वीरगन्ज नाकामा एकिकृत सुरक्षा बीट बनाउँदै महानगर

MadhesKhabar

सर्वोच्च अदालतमा वीरगन्जको मेनरोड विस्तारको सुनुवाई २४ औं पटक पनि सर्यो

MadhesKhabar

१० दिने पैदल अयाेध्या यात्रामा निस्किएका वीरगन्जका युवाहरुलाई मेयर सिंहले गरे विदाई

MadhesKhabar

Leave a Comment