वीरगन्ज,९साउनःपानीको हाहाकारले व्याकुल मधेस प्रदेशका जिल्लको हवाई निरीक्षण गर्दै शुक्रबार बाराको परवानीपुरमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले बारा–पर्साबासीलाई निरास पारेका छन् ।
शु्क्रबार महोत्तरीमा पुल र प्रसूती भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मधेसमा तत्काल ५ सय वटा डीप बोरिङ जडान गर्ने घोषणा गरे । तर त्यहाँबाट हेलिकप्टरबाट मधेसका जिल्लाको हवाई निरीक्षण गर्दै परवानीपुर आइपुगेका ओलीले परवानीपुर गाँउपालिकाको नवनिर्मित प्रशासनीक भवनको उद्घाटनपछि सम्बोधन गर्ने क्रममा मधेसमा पानीको हाहाकारले सबैभन्दा बढी पिडित पर्सार बाराबासीका लागि खासै कुनै राहत वा प्याकेज घोषाणा गरेनन् । जसका कारण कार्यक्रममा सहभागी यहाँका नागरिक निरास भए ।
परवानीपुरमा आएर प्रधानमन्त्री ओलीले खडेरी र सुख्खाले अस्तव्यस्त बनेको पर्सा र बाराका लागि विशेष राहत वा प्याकेज घोषणा गर्ने अपेक्षाका साथ ठूलो संख्यामा यी दुवै जिल्लाका नागरिक कार्यक्रममा पुगेका थिए । तर प्रधानमन्त्री ओलीले सरकारले विगत १ वर्षमा गरेका कामहरुको बखानमै आफ्नो भाषण केन्द्रित गरेको कार्यक्रममा प्रधानमन्त्रीलाई सुन्न गएका पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का रामरिझन यादवले गुनासो गरे ।
उनले भने,‘ खानेपानीको हाहाकार मधेसमै सबैभन्दा बढी पर्सा र त्यसपछि बामरा जिल्लामा छ । आज प्रधानमन्त्री ओलीले पानीको समस्याका बारेमा केहि ठूलै प्याकेज घोषणा गर्नु हुन्छ कि भन्ने आस थियो । तर उहाँले त आँफुले गरेका कामहरुमात्रै गनेर सुनाउनु भयो ।’
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले पानीको संकटले सुख्खाग्रस्त मधेसमा पानीको समस्या दीर्घकालीन समाधानका लागि सरकार जुटिसकेको बताए । उनले भने,‘मधेसमा अहिले सुख्खाले समस्या बढाएको छ ।त्यसका कारण मधेसलाई संकटग्रस्त घोषणा गरिसकेका छौं ।यसको दीर्घकालीन रुपमा समाधानका लागि चुरेको संरक्षणमा लाग्नुपर्छ । यदि चुरेको संरक्षणमा अहिल्यैदेखि लागिएन र चुरे क्षेत्रमा ठुलठुला तालतैलाया बनाइएन भने आगामी दिनमा मधेसमा सुख्खा हुने संकट अझ बढ्ने जोखिम छ ।’
उनले मधेस प्रदेशका १ लाख ८५ हजार बिघा खेतियोग्य जग्गा सिंचाईका लागि सुनकोशी मरिन डाइभर्सन सिंचाई परियोजनाको काम तिब्र गतिमा काम अगाडि बढिरहेको सुनाए ।
उनले देशमा केहिपनि भएन भन्ने होइन धेरै कामहरु भएको दाबीपनि गरे। तर भनेजति भने अझै हुन नसकेको भन्दै उनले त्यसतर्फ सरकार लागिपरेको बताए ।
आज देश चौतर्फी रुपमा अगाडि बढिरहेको भन्दै उनले भने,‘ भौतिक पूर्वाधार, सडक, शिक्षा,स्वास्थ्य, कृषि लगायत चौतर्फी क्षेत्रमा देश अगाडि बढिरहेको छ । देशको विकासको गतिलाई अझ तिब्रताका साथ अगाडि बढाउने नीति सरकारले लिएको छ ।
उनले थप १०/१५ वटा स्मार्ट सिटी निर्माण गरिने बताए।कृषिको आधुनिकीकरण भइरहेको भन्दै उनले किसानको आम्दानी चार गुणाले बढेको जिकिरपनि गरे ।
देशको राजनीतिलाई अस्थिर पारेर सरकारलाई काम गर्न नदिने प्रवृतिहरु देखा परेकोमा ती प्रवृतिहरुको सामना गर्दै सरकार अगाडि बढिरहेको प्रधानमन्त्री ओलीले बताए ।एमाले र कांग्रेसले ७ बुँदे सम्झौता गरेर बनेको संयुक्त सरकारले अस्थिरताको अन्त्य गर्दै र देशमा स्थायीत्व कायम गरेर देशलाई विकासको बाटोमा अगाडि बढाएको उनले बताए।
परवानीपुर गाँउपालिकाका अध्ध्यक्ष राम क्षत्री पटेलको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दहाल, श्रम तथा यातायातमन्त्री शरदसिंह भण्डारी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनल , सांसदहरु ज्वला साह, किसान श्रेष्ठ ,प्रभु हजरा लगायतकाकोपनि उपस्थिती थियो ।कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा परवानीपुर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार ३ करोड २५ लाख ९१ हजार रुपैयाँको लागतमा गाँउपालिकाको प्रशासनीक भवनको निर्माण गरिएको बताए ।

