वीरगन्ज,५साउन:पर्साको पटेर्वा सुगौली गाँउपालिकाले आफनो पालिकामा रहेका सुत्केरी महिलालाई यसवर्षपनि पोषणयुक्त खाद्य सामग्री सहितको कोसेली वितरण गर्न सुरु गरेको छ । पालिकामा रहेका बर्थिङ सेन्टरमा सुत्केरी गराएका महिलाहरुलाई गाँउपालिकाको कार्यालयले गतवर्षदेखि नै घीउ, मसूरोको दाल, चना ,बोडीको गेडा लगायतका सामग्रीसहितको सुत्केरी कोसेली वितरण गर्न सुरु गरेको हो ।
यसवर्षपनि आइतबारदेखि ‘उपाध्यक्ष सुत्केरी कोसेली वितरण कार्यक्रम’ अन्तर्गत सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री सहितको कासेली वितरण गर्न सुरु गरिएको गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तोले जानकारी दिइन् ।
आइतबार वडा नम्बर ४ मा रहेको आधारभूत अस्पतालमा गाँउपालिकाका अध्यक्ष दिनेश प्रसाद चौधरी र उपाध्यक्ष महत्तोले संयुक्त रुपमा ५१ जना सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री सहितको कासेली वितरण गरेको स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र प्रसाद यादवले जानकारी दिए ।
त्यस्तै वडा नम्बर २ गादी र वडा नम्बर ५ निचुटास्थित बर्थिङ सेन्टरमा पनि कार्यक्रम गरेर सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाद्य सामग्री सहितको कासेली वितरण गरिने उनले बताए । ‘उपाध्यक्ष सुत्केरी कोसेली वितरण कार्यक्रम’ अन्तर्गत यसवर्ष ४ सय जना सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण गर्ने लक्ष्य रहेको गाँउपालिका उपाध्यक्ष महत्तोले बताइन् ।
गाँउपालिकाले ‘उपाध्यक्ष सुत्केरी कोशेली वितरण कार्यक्रम’ अन्तर्गत सुत्केरी महिलालाई दुई महिनाका लागि पुग्ने गरी घ्यु आधा केजी , मसूरको दाल २ केजी , चना १ केजी र बोडीको गेडा १ केजीको प्याकेट बनाएर कोसेलीका रुपमा वितरण गर्न थालेको उनले बताइन् ।
उनका अनुसार, गत वर्षपनि उक्त कार्यक्रम अन्तर्गत पालिकाका ३ सय ३० जना सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको थियो ।
बर्थिङ सेन्टर वा अस्पतालमै पुगेर सुरक्षित सुत्केरी गराउन महिलाहरुलाई प्रोत्साहित गर्ने उदेश्यले ‘उपाध्यक्ष सुत्केरी कोसली वितरण कार्यक्रम’ सुरु गरिएको उनले बताइन् ।

