सर्लाही,४असारः सर्लाहीमा प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका सामानसहित एउटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । बुधबार बिहान विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी नायब निरीक्षक सुभाष यादवको नेतृत्त्वमा खटिएको प्रहरी टोलीले साढे ४२ लाख भन्दा बढीको भन्सार छलीका सामानसहितको ट्रक नियन्त्रणमा लिएको हो ।
वीरगन्जबाट इटहरीतर्फ जाँदै गरेको बा ५ ख ३६० नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता बलिष्टर सिंहले बताए । उनका अनुसार उक्त ट्रकका चालकसँग लोड गरिएका टायर, किसमिस, छाता, कस्मेटिक्ससहितका सामानहरू रहेको थियो ।ती सामानको आवश्यक कागजात नभेटिएको र भएका कागजात शंकास्पद रहेकोले सामानसहितको ट्रक नियन्त्रणमा लिइएको उनले बताए ।
भन्सार छलीका सामान भेटिएपछि थप अनुसन्धानको लागि ट्रक नियन्त्रणमा लिएर बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

