वीरगन्ज,३असार:त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत मंगलबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई सहजै हराएको छ।नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको हाे।
स्कटल्याण्डले दिएकाे ९८ रनकाे सामान्य लक्ष्य नेपालले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्याे।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए भने दीपेन्द्र सिंह ऐरीले १४ तथा बासिर अहमदले १३ रन जाेडे।
यसअघि तितवुड क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले १९.४ ओभरमा अलआउट हुँदै ९७ रन मात्रै बनाएकाे थियो।उसका लागि मिचेल लिस्कले सर्वाधिक ४६ रन बनाए। उनले ४६ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
ओपनरद्वय जर्ज मुन्से र मार्क वाटले क्रमशः ८ र १ रन बनाउँदै पेभेलियन फर्किए। ब्रान्डन म्याकमुलेनले १० रन बनाउँदा कप्तान म्याथ्यु क्रसले १५ रन बनाउँदै पेभेलियन फर्किए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा १ मेडनसहित ११ रन खर्चिए। करण केसी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए। ललित राजवंशीले १ विकेट लिए। नेपालले श्रृंखलाको पहिलो खेलमा भने नेदरल्याण्ड्ससंग तेस्रो सुपर ओभरमा हार बेहोरेको थियो।

