काठमाडौं,२९बैशाखःकपाल प्रत्यारोपण गर्ने क्रममा भारतमा एक सरकारी इन्जिनियरको ज्यान गएको छ । उत्तर प्रदेशको कानपुर निवासी ३७ वर्षीय विनीत कुमार दुवेले कपाल प्रत्यारोपण गर्न खोज्दा ज्यानै गुमाएका हुन् ।
टाइम्स अफ इन्डियामा प्रकाशित खबर अनुसार घटना दुई महिना अगाडिको भएपनि भर्खरै मात्र प्रहरीमा उजुरी परेपछि घटनाले चर्चा पाएको छ ।
३७ वर्षीय बिनित कानपुरको पन्की पावर प्लान्टमा सहायक इन्जिनियरका रुपमा कार्यरत थिए । उनी पत्नी र दुई बच्चासहित कम्पनीको अफिसर कोलोनीमा बस्दै आएका थिए ।
गत मार्च ११ मा उनकी पत्नी जया त्रिपाठी बच्चाहरु लिएर होली मनाउनका लागि गोण्डास्थित माइतीघरमा गएकी थिइन् । घरमा पत्नी आउँदा सरप्राइज दिन भन्दै मार्च १३ मा विनीत कपाल प्रत्यारोपण गर्न कानपुरकै एक क्लिनिकमा गए । जुन अनुष्का तिवारी नामकी एमबीबीएस डाक्टरले चलाउँदै आएकी थिइन् ।
अनुष्काले कपाल प्रत्यारोपणका लागि नदुख्ने सुई दिनेबित्तिकै विनीतको अनुहार सुन्निएर आयो । अवस्था बिग्रँदै गएपछि उनलाई उपचारमा लागि अस्पताल भर्ना गरियो । कानपुरकै रिजेन्सी अस्पतालमा उपचारका क्रममा बिनितको मृत्यु भयो ।साभारः अनलाइनखबर

