सिन्धुली,१८ वैशाख : खानेपानीमन्त्री प्रदीप यादवले आम नेपाली नागरिकका लागि शुद्ध, सुरक्षित खानेपानी सपना मात्रै होइन, अब व्यवहारिक हक बन्ने बताएका छन् । बिहीबार सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ५ र ६ मा सम्पन्न “नाङ्गेडाँडा बृहत् पम्पिङ खानेपानी योजना” को उद्घाटन गर्दै मन्त्री यादवले सरकारको उच्च प्राथमिकतामा रहेको ‘स्वच्छ पानी, स्वस्थ जीवन’ अभियान अन्तर्गत देशभरिका दुर्गम गाउँदेखि सहरसम्म खानेपानी सेवा सर्वसुलभ गराउने दीर्घकालीन नीति रहेको बताए ।
उनले भने, “हामी समृद्ध र स्वस्थ नेपाल निर्माण गर्ने हाम्रो साझा सपना साकार पार्ने दिशामा एक महत्वपूर्ण पाइला चाल्दैछौँ । जहाँ शुद्ध पानी अब सपना होइन, व्यवहारिक हक बन्नेछ ।”
मन्त्री यादवले शुद्ध, सुरक्षित खानेपानी एक सेवा नभई यो नागरिकको अधिकार भएको तथा मानव जीवनको मूलभूत आवश्यकता पनि भएको जिकिर गरे ।सरकार विकासको प्रत्येक पाइलामा नागरिकको अपेक्षालाई सर्वोपरि राखेर अघि बढिरहेको तथा संघीय सरकार, स्थानीय निकाय र जनताको सक्रिय सहकार्यको उदाहरण स्वरुप सिन्धुलीको सुनकोशी गाउँपालिकाको नाङ्गेडाँडा खानेपानी योजना सफल बन्न पुगेको मन्त्री यादवले बताए।
आयोजनाको निर्माण कार्यका लागि सम्झौता बिसं २०७९ साल असार ९ गते गरिएको तथा प्रारम्भिक योजना अनुसार, आयोजनाको कार्य बिसं २०८१ साल असार ८ गतेभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा सिन्धुलीका सांसद लेखनाथ दहाल , सुनकोशी गाउँपालिकाका अध्यक्ष दीपा बोहोरा दाहाल, उपाध्यक्ष कपिलकुमार कोइरालाले नाङ्गेडाँडा बृहत् पम्पिङ खानेपानी योजनाले यहाँका नागरिकको खानेपानीको समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।

