
वीरगन्ज,१७बैशाखःडेढ साताअघि पर्साका पालिका प्रमुख,प्रमुख र शिक्षा शाखा प्रमुखहरुले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएपनि जिल्लाका अधिकांश पालिकामा भर्ना अभियान अझै सञ्चालन हुन सकेको छैन । तर केही पालिकाहरुले विद्यार्थी भर्ना अभियान आंशिक रुपमा सञ्चालन गरेका छन् ।
वीरगन्ज महानगरपालिकामा खुल्ला रुपमा विद्यार्थी भर्ना अभियान सञ्चालन नभएपनि महानगरका केही सामुदायिक विद्यालयले आन्तरिक रुपमा विद्यार्थी भर्ना गरिरहेको महानगर स्रोतले बताएको छ । ‘केही विद्यालयले आन्तरिक रुपमा विद्यार्थी भर्ना गरेका छन्,’ स्रोतले भन्यो, ‘अघिल्ला वर्षजस्तो खुल्ला रुपमा अभियान नै चलाएर घरदैलो भने हाल गरिएको छैन ।’
यस्तै ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले गत आइतबारदेखि आफ्नो पालिकामा विद्यार्थी अभियान चलाइएको बताए । पालिकाकै जनशक्ति परिचालन गरेर विद्यार्थी भर्ना अभियान चलाएको र केही विद्यार्थी भर्नासमेत गराएको उनको भनाइ छ ।
जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले आफ्नो पालिकामा विद्यार्थी भर्ना अभियान सञ्चालन हुन नसकेको बताए । ‘अभियान चलाउने प्रयास मैले गरेको हो,’ उनले भने, ‘तर विद्यालयमा शिक्षक नै नभएपछि अभियान चलाउन सकिएन ।’
यहि बैशाख ७ गते वीरगन्ज महानगरपालिकाको कार्यालयमा सम्पन्न जिल्लाका पालिका प्रमुख,उपप्रमुख र शिक्षा शाखाहरुको बैठकमा बैशाख ८ देखि १५ गतेसम्म जिल्लाभर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने सहमति भएको थियो । बैठकले तत्काल विद्यार्थी भर्नाभर्ना अभियान चलाउन आआफ्ना पालिकाका विद्यालयलाई निर्देशन दिने निर्णयपनि गरेको थियो ।
जिल्ला शिक्षा समन्वय इकाइ पर्साका प्रमुख हरि राउतले पूर्व प्रतिबद्धताअनुरुप अधिकांश पालिकाले अभियान सञ्चालन गर्न नसकेको बताए । ठोरी गाउँपालिकाले आफ्नै जनशक्ति प्रयोग गरेर अभियान चलाएकाले त्यो सम्भव भएको उनको भनाइ छ । वीरगन्ज महानगरपालिकाको कार्यालयले अभियान सञ्चालन गर्न उत्प्रेरक गीत बनाएको जानकारी आफूले पाएको उनले बताए ।शंकर अचार्य/कान्तिपुर

