काठमाडौं,१७बैशाख:पाकिस्तानले आफ्नो देशमा भारतले ३६ घन्टाभित्र आक्रमण गर्नसक्ने दाबी गरेको छ।
जम्मू-कश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा पाकिस्तानको हात रहेको दाबी भारतको छ।त्यही आधारमा भारतले पाकिस्तानमाथि २४ देखि ३६ घन्टाभित्र आक्रमण गर्न सक्ने विश्वसनीय सूचना प्राप्त भएको पाकिस्तानका सञ्चारमन्त्री अताउल्लाह तरारलले सामाजिक सञ्जालमार्फत सन्देश जारी गरेका छन्।
‘आधारहीन र मनगढन्ते आरोपको बहानामा भारतले आगामी २४-३६ घण्टाभित्र पाकिस्तानविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको पाकिस्तानसँग विश्वसनीय गुप्तचर जानकारी छ,’ उनले सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै भनेका छन्।
मन्त्री तरारले आफ्नो भनाइलाई पुष्टि हुने आधार भने सार्वजनिक गरेका छैनन्।
यद्यपि कुनै पनि प्रकारका सैन्य कारबाही भए पाकिस्तानले त्यसको जबाफ दिने चेतावनी पनि मन्त्री तरारले दिएका छन्। र ती सबैको जिम्मेवार भारत हुने उनले बताएका छन्।
भारतको जम्मू-कश्मिरमा वैशाख ९ गते आतंकवादी हमला भएको थियो।
उक्त हमलामा नेपालका सुदीप न्यौपानेसहित २८ जना मारिएका थिए। हमलाको जिम्मा ‘द रेसिस्टेन्ट फ्रन्ट’ (टिआरएफ) नामक आतंकवादी समूहले लिएको थियो।
भारतले टिआरएफलाई पाकिस्तानी गुप्तचर र सेनाको समर्थन रहेको दाबी गर्दै आएको छ। पाकिस्तानले भने घटनामा आफ्नो संलग्नता इन्कार गर्दै आएको छ।