Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतलाई पाकिस्तानको जवाफ:भारतसँगको व्यापार, हवाई उडान र सबै द्विपक्षीय सम्झौता स्थगित

काठमाडौं,११बैशाखःभारतको जम्मू–कश्मीरस्थित पहलगाम गरिएको आतंकवादी आक्रमणपछि भारतले चालेको प्रतिशोधात्मक कदमको पाकिस्तानले प्रतिक्रिया जनाएको छ । पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको बैठकपछि प्रधानमन्त्री शहबाज शरीफको कार्यालयबाट जारी विज्ञप्तीमा भनिएको छ–भारतसँगको व्यापार, हवाई उडान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरिएको छ ।

भारतले सिन्धु जल सन्धि निलम्बन गरेको कुरा अस्वीकार गर्दै पाकिस्तानले पानी रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई ‘युद्धको कार्य मानिने र पूर्ण राष्ट्रिय शक्तिका साथ प्रतिक्रिया दिने’ चेतावनी दिएको छ । ‘पाकिस्तान र यसका सशस्त्र सेनाहरू आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न पूर्ण रूपमा सक्षम र तयार छन्,’ पाकिस्तानको विज्ञप्तीमा भनिएको छ ।

भारतले आतंककारी आक्रमणमा पाकिस्तानको हात रहेको दाबी गर्दै बुधबार पाँच–बुँदे कूटनीतिक कदम चालेकोमा पाकिस्तानले कडा आलोचना गरेको छ । भारतीय निर्णय ‘एकपक्षीय, अन्यायपूर्ण, राजनीतिक रूपमा प्रेरित, अत्यन्तै गैरजिम्मेवार र कानुनी योग्यतारहित’ भएको पाकिस्तानको भनाइ छ ।

पाकिस्तानका प्रधानमन्त्री शरीफको कार्यालयबाट जारी विज्ञप्तीमा ‘कुनै पनि विश्वसनीय अनुसन्धान र प्रमाणित प्रमाणविना’ पहलगाम आक्रमणलाई पाकिस्तानसँग जोड्ने भारतको प्रयास ‘व्यर्थ, तर्कहीन र पराजित तर्क’ भएको उल्लेख छ ।

भारतीय कदमको जवाफ स्वरूप पाकिस्तानले पनि सार्क भिसा छुट योजनाअन्तर्गत भारतीय नागरिकलाई जारी गरिएका सबै भिसा निलम्बन गरेको छ । इस्लामाबादमा भारतीय उच्चायोगमा कूटनीतिज्ञको संख्या घटाएर ३० पु¥याइएको छ । त्यस्तै भारतीय रक्षा, नौसेना र हवाई सल्लाहकारलाई ३० अप्रिलअघि पाकिस्तान छोड्न आदेश दिइएको छ ।

त्यसैगरी पाकिस्तानले सबै भारतीय स्वामित्व वा भारतीयद्वारा–संचालित एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र बन्द तथा भारतसँगको सबै व्यापार निलम्बन गरेको छ ।

पहलगाम घटनापछी भारतले नयाँदिल्लीस्थित पाकिस्तानी दूतावासका रक्षा, सैन्य, नौसेना र वायुसेनाका कूटनीतिज्ञलाई अवाञ्चित व्यक्ति (पर्सन नन ग्रान्टा) ठह¥याउँदै ७ दिनभित्र देश छाड्न आदेश दिएको थियो । त्यस्तै पाकिस्तानको राजधानी इस्लामाबादस्थित भारतीय दूतावासमा रहेका आफ्ना रक्षा, नौसेना र वायुसेनाका सल्लाहकारलाई फिर्ता बोलाउने निर्णयसमेत लिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्को सुरक्षा मामिला समिति बैठकले पाकिस्तानसँगको सिन्धु जल सन्धिलाई पनि स्थगित गर्ने निर्णय गरेको थियो । भारत र पाकिस्तानबीच सन् १९६० मा भएको सिन्धु जल सन्धि सफल अन्तर्राष्ट्रिय सन्धिका रूपमा हेरिन्छ । दुई देशबीच पटक–पटक युद्ध हुँदा पनि उक्त सन्धिमा असर पर्ने गरेको थिएन ।

पाकिस्तानी नागरिकले सार्क राष्ट्रका सदस्यका नाताले पाउँदै आएको भिसा छुट योजना पनि बन्द गरिएको थियो । सार्क भिसा छुटअन्तर्गत भारतमा रहेका पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न भनिएको थियो ।साभारः इकान्तिपुर

 

Related posts

पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खान माथि गोली प्रहार

MadhesKhabar

माल्दिभ्सबाट भारतीय सेना तुरुन्तै हटाउने नवनिर्वाचित राष्ट्रपति मुइज्जुकाे घाेषणा

MadhesKhabar

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

Leave a Comment