
काठमाडौं,२९चैतःकाठमाडौंको तिनकुनेमा चैत १५ गतेको राजावादी समूहको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले प्रहरीलाई १२ दिनको म्याद दिएको छ ।
शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले राज्यविरुद्धको कसुरमा प्रसाईंलाई प्रहरी थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई १२ दिनको म्याद दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए ।
त्यस्तै प्रसाईंसँगै पक्राउ परेका उनका अंगरक्षक दीपक खड्काविरुद्ध पनि १२ दिनको म्याद थप प्रहरीले जनाएको छ । प्रसाईं क्यान्सरको बिरामी भएका कारण अदालतले प्रहरीलाई चिकित्सकको परामर्शमा उपचारको प्रबन्ध गर्नपनि अदालतले आदेश दिएको प्रहरीले जनाएको छ ।
१५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर प्रसाईं फरार रहेकोमा बिहीबार प्रहरीको विशेष ब्युरोले भारतको आसाममा प्रकाउ गरी शुक्रबार बिहान उनलाई भद्रपुर ल्याएको थियो ।त्यहाँबाट उनलाई प्रहरीले विमानबाट काठमाडौं पर्याएर अदालतमा पेश गरेको थियो ।
राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए भने उनका समर्थहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए । त्यस्तै सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पु¥याएका थिए । घटनामा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको ज्यान गएको थियो भने १२९ जना घाइते भएका थिए, पाँच जना अझै अस्पतालमा छन् ।

