Madhes Khabar
समाचार

जलवायु परिवर्तनका कारणले मधेसमा भूमिगत जलस्रोत घट्दै गएको छ : मन्त्री यादव

काठमाडौं,२८चैत : खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी, सरसफाई तथा ढल व्यवस्थापनको क्षेत्रमा दीगो विकास सुनिश्चित गर्न र नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन क्षेत्रीय, संस्थागत तथा अन्तर–निकाय समन्वय अपरिहार्य रहेको बताएका छन् ।बिहीबार खानेपानी मन्त्रालय र अन्तर्राष्ट्रिय संस्था इसिमोडबीच भएको सहकार्य सम्झौता कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपाल सरकार अन्तर्गतका २२ मन्त्रालयमध्ये खानेपानी मन्त्रालयले अत्यन्तै संवेदनशील र नागरिकका जीवनसँग प्रत्यक्ष सरोकार राख्ने सेवा पुर्‍याइरहेको उल्लेख गरे।उनले मन्त्रालयले नीति निर्माणदेखि कार्यान्वयन, अनुगमन, मूल्यांकन र समन्वयसम्मका काम सम्हाल्दै आएको जानकारी दिए।

मन्त्री यादवले भने, “नागरिकलाई सुरक्षित पानी र सरसफाई प्रदान गर्न विभिन्न तह र निकायबीच समन्वय गर्न जरुरी छ । यो सहकार्यले दीगो विकासका लक्ष्यहरू हासिल गर्न महत्वपूर्ण टेवा पुर्‍याउनेछ ।”उनले मन्त्रालय र इसिमोडबीचको सहकार्य नेपालको पहाडी तथा तराई क्षेत्रका समुदायहरूमा दिगो, सुरक्षित र गुणस्तरीय पानी तथा सरसफाई सेवा पुर्‍याउने साझा उद्देश्यसहित अघि बढेको स्पष्ट पारे । साथै, अनुसन्धान, प्रविधिको हस्तान्तरण, क्षमता अभिवृद्धि तथा सूचनाको आदानप्रदानलाई सहकार्यले सघाउने विश्वास उनले व्यक्त गरे।

मन्त्री यादवले जलवायु परिवर्तन र भूकम्पका असरहरूका कारण हिमालहरू कालो हुँदै गएकाे र तराई–मधेसमा भूमिगत जलस्रोत घट्दै गएको अवस्थामा सुरक्षित पानीको आपूर्ति एक चुनौतीको रूपमा देखिएको बताए ।उनले भर्खरै नेपाल र भारत तथा खानेपानी मन्त्रालय र ऊर्जा मन्त्रालयबीच भएका सम्झौताहरूले पनि यस क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।

कार्यक्रममा खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले सहकार्य सम्झौताले सुक्दै गएका पानीका मुहानहरू पुन: सक्रिय गराउने र दीगो पानी व्यवस्थापनतर्फ ठोस योगदान दिने विश्वास व्यक्त गरिन् ।

सम्झौतापत्रमा मन्त्रालयका सहसचिव मीना श्रेष्ठ र इसिमोडका महानिर्देशक डा. पेमा ग्याम्त्सोले हस्ताक्षर गरे ।कार्यक्रममा मन्त्रालयका सहसचिव रमाकान्त दुवाडि, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठका साथै इसिमोड र मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

Related posts

वीरगन्ज नाकाबाट ६ लाख रुपैयाँसहित एक महिला पक्राउ 

MadhesKhabar

पर्साको शंकरसरैयाको बाँसघारीबाट गाँजासहित एक बृद्ध पक्राउ

MadhesKhabar

छपकैयाकाे एक घरबाट सशस्त्र प्रहरीद्वारा २१ लाख बढीकाे सामान बरामद

MadhesKhabar

Leave a Comment