Madhes Khabar
समाचार

मधेस-काठमाडौं द्रुतमार्गको भौतिक प्रगति अझै ४० प्रतिशत भन्दा कम

फाइल तस्बिर ।

काठमाडौं,२५चैत:तराई/मधेस-काठमाडौं द्रुतमार्ग सडक आयोजना सम्पन्न गर्नुपर्ने गरी तोकिएको मिति नजिकिँदै जाँदा प्रगतिले भने गति लिन सकेको छैन ।

आयोजनाका अनुसार फागुन मसान्तसम्म आयोजनाको भौतिक प्रगति ३८.८० प्रतिशतमात्र छ । वित्तीय प्रगति ४०.२४ प्रतिशत छ । चालु आर्थिक वर्ष २०८१/८२ मा आयोजनाका लागि २२ अर्ब ५४ करोड ९३ लाख बजेट विनियोजन गरिएको छ ।

यसमध्ये फागुनसम्म ६ अर्ब ५७ करोड खर्च भइसकेको छ । अघिल्लो आव २०८०/८१ सम्म भौतिक प्रगति ३५.३८ प्रतिशत थियो । चालु आव ८ महिनामा भौतिक प्रगति ३.४२ प्रतिशत बिन्दुमात्र बढेको देखिएको छ ।

गत आव द्रुतमार्गमा १७ अर्ब ९८ करोड ३८ लाख विनियोजन भएकोमा १७ अर्ब ८६ करोड ९६ लाख बराबर खर्च भएको थियो । २०८०/८१ सम्म द्रुतमार्गको कुल वित्तीय खर्च भने ६७ अर्ब ९ करोड छ । यो नेपाली सेनाले निर्माणको जिम्मा लिएयताको खर्च हो ।

आयोजनामा अहिले प्याकेज नम्बर १ देखि १० सम्म विभिन्न निर्माणको काम जारी छ । यो आयोजना कुल ७०.९८ किलोमिटर लम्बाइको हो । जसमध्ये १०.९९ किलोमिटरमा सुरुङ रहेको छ । यो कुल लम्बाइको १५.४८ प्रतिशत हो ।

सुरुङतर्फको भौतिक प्रगति ६१.११ प्रतिशत छ । आयोजनामा कुल १२.८८ किलोमिटर अर्थात् १८.१५ प्रतिशत पुलको हिस्सा रहने छ । ८९ स्थानमा पुल निर्माण गरिँदैछ ।

सडकतर्फ प्यासेन्जर अन्डरपास १, भेइकल अन्डरपास २२ र बक्स कल्भर्ट निर्माण २६ वटा सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । आयोजनाको सुरुवाती बिन्दु खोकना तथा ललितपुर जिल्लाको बुङमति र फर्सिडोल क्षेत्रमा जग्गाको मुआब्जा वितरण हुन अझै बाँकी छ ।

सोही कारण प्याकेज नम्बर ११ को खरिद प्रक्रिया ढिला भएको आयोजनाको भनाइ छ । सम्झौता अनुसार आयोजनाको म्याद २०८३ चैतसम्म मात्र छ ।साभार:अनलाइनखबर

Related posts

लिपनीविर्ताको शक्ति युवा क्लबको अध्यक्षमा सुबोध श्रीवास्तव

MadhesKhabar

१८०० पिस लागू औषधसहित एक पुरुष वीरगन्जमा पक्राउ

MadhesKhabar

वीरगन्ज नाकामा खुलेयाम एयरगन लिएर हिड्दै गरेका भारतीय नागरिक हुसेन पक्राउ

MadhesKhabar

Leave a Comment