बारा,२०कात्तिक:बाराको फेटा गाउँपालिका–३ मा अधुरो अस्पताल उद्घाटनका क्रममा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका बालक आदित्य पासवानको परिवारसँग पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले भेटघाट गरेका छन्।
सोनलले शुक्रबार बिहान घाइते पासवानको घरमै पुगेर उनकी आमा तथा स्थानीयवासीसँग भेटघाट गर्नुका साथै घटनास्थलको स्थलगत निरीक्षणसमेत गरेका छन्।
भेटका क्रममा साेनलले घटनाबारे स्थानीयवासीसँग जानकारी लिँदै घटनाको सत्यतथ्य छानबिन गर्न सम्बन्धित सबै पक्षसँग सहयोगका लागि अपिल गरेका छन्। घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिएका छन्।
अस्पताल उद्घाटनका क्रममा स्थानीयवासीले विरोध प्रदर्शन गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप हुदाँ प्रहरीले चलाएको गोली लागेर १४ वर्षीय आदित्य पासवान घाइते भएका थिए।
घाइते पासवानको हाल काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा उपचार भइरहेको छ।

