वीरगन्ज,७चैत:वीरगन्ज नर्सिङ क्याम्पसमा मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना प्रक्रिया विवादमा फसेको छ । मतगणनामा धाँधली भएको भन्दै नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) र नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) ले क्याम्पस प्रशासन र निर्वाचन अधिकृतमाथि गम्भीर आरोप लगाएपछि बुधबार बिहानदेखि मतगणना स्थगित भएको छ ।
विवाद समाधानका लागि बुधबार साँझसम्म चलेको बैठकले आज(बिहीबार)देखि पुनः मतगणना सुरु गर्ने निर्णय गरेको छ । यद्यपि तर समय भने निश्चित भएको छैन ।
मंगलबार अपराह्न सम्पन्न मतदानपछि राति ८ बजेदेखि सुरु भएको मतगणना प्रक्रियामा क्याम्पस प्रशासनले बदर मतहरूलाई समेत जबरजस्ती सदर गरेको आरोप नेविसंघ र अखिल (क्रान्तिकारी) ले लगाएका छन् ।
क्याम्पस प्रमुख डा. कल्पना पौडेल र निर्वाचन अधिकृत अन्जु कुमारी महतोले अनेरास्ववियुलाई जिताउन यस्तो हरकत गरेको दाबी गर्दै नेविसंघ र अखिल (क्रान्तिकारी) आक्रोशित बनेका छन् ।
विरोधमा उत्रिएका नेविसंघ निकट विद्यार्थीहरूले मंगलबारराति क्याम्पसको मूल गेट अगाडि टायर बालेर नाराबाजी र प्रदर्शन समेत गरेका थिए । उनीहरूले मतगणनालाई पारदर्शी बनाउन पुनः मतगणनाको माग गरेका छन् भने क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजीनामासमेत मागेका छन् ।
अखिल (क्रान्तिकारी) का नेता मिरोज अहमदले भने, “हामीले मतपत्र जाँच्दा बदर भएका मतहरूलाई जबरजस्ती सदर गरिएको पायौँ । यो क्याम्पस प्रशासनको बदनियतको परिणाम हो । निर्वाचन स्वच्छ र पारदर्शी हुनुपर्छ, तर यहाँ ठाडो धाँधली भएको छ ।”
नेविसंघका जिल्ला सभापति रमेश यादवले क्याम्पस प्रशासनले विद्यार्थीहरूलाई अभ्यास परीक्षामा नम्बर काटिदिने धम्की दिएर विरोधको स्वर दबाउन खोजेको आरोप लगाए । “गलत कामको विरोध गर्न पनि दिइएको छैन । प्रशासनले हाम्रो अधिकार कुण्ठित गरेको छ,” उनले भने ।
नेविसंघबाट वीरगन्ज नर्सिङ क्याम्पसमा सभापति पदकी उम्मेदवार दियान्सु श्रेष्ठले पनि मतगणना स्थलमा आफ्ना प्रतिनिधिको कुरा नसुनिएको र बदर मतलाई सदर गरेर क्याम्पस प्रमुखले अनेरास्ववियुलाई जिताउन खोजेको बताइन् ।
यता, नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले मतगणनामा कुनै अनियमितता नभएको दाबी गरेको छ । अनेरास्ववियुका नेता आशिफ अहमदले नेविसंघ र अखिल (क्रान्तिकारी) ले हार निश्चित देखेपछि अनावश्यक विवाद खडा गरेको बताए । “मतगणनामा उनीहरू निकै पछाडि परेका छन् । हार स्वीकार गर्न नसकेर नाटक गरेका हुन् । अनेरास्ववियुले यसअघि पनि स्ववियुको नेतृत्व गरेको छ र यो पटक पनि गर्छ,” उनले भने । पुनः मतगणनाको मागलाई अनेरास्ववियुले “अनुचित” भन्दै अस्वीकार गरेको छ ।
मंगलबार राति विरोध प्रदर्शनले उग्र रूप लिएपछि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र प्रहरी उपरीक्षक गौतम मिश्र क्याम्पस पुगेका थिए । विद्यार्थी नेताहरूसँगको छलफलमा अखिल (क्रान्तिकारी) का नेता आसिफ अहमदले बदर मतहरूलाई सदर गरेको प्रमाण फेला परेको बताए ।पुन गणना गर्ने क्रममा सुरुकै २५/३० वटा मतपत्र मध्ये ३ वटामा बदर मत भेटिएपछि त्यसलाई बदर गर्न माग गर्दा अनेरास्ववियुका प्रतिनिधिले नमाने पछि पुन विवाद भई मतगणना राेकिएकाे नेविसंघकी सभापतिकि उम्मेदवार दियान्सु श्रेष्ठले बताइन्।
बुधबार दिउँसो क्याम्पस प्रशासन, जिल्ला प्रशासन, पर्सा प्रहरी र निर्वाचनमा सहभागी सङ्गठनका प्रतिनिधिहरूको बैठकले बिहीबारदेखि पुनः मतगणना सुरु गर्ने निर्णय गरेको छ । क्याम्पस प्रशासनले बदर मतलाई सदर गरेको स्वीकार गर्दै नेविसंघ र अखिल (क्रान्तिकारी) को पुनः मतगणनाको माग स्वीकार गरेको हो । मतगणना केन्द्रमा सबै पक्षले आ–आफ्नो ताला लगाएका छन् ।
मंगलबार भएको निर्वाचनमा क्याम्पसका २७३ मतदातामध्ये २७२ जनाले मत खसालेका थिए । मतगणना स्थगित हुनुअघिको पछिल्लो परिणामअनुसार स्ववियु सभापति पदमा अनेरास्ववियुकी आर्जु राय ८६ मतसहित अग्रस्थानमा थिइन् । नेविसंघकी दियान्सु श्रेष्ठ ७८ मतसहित दोस्रो र अखिल (क्रान्तिकारी) की कविता आचार्य ५२ मतसहित तेस्रो स्थानमा थिइन् । बाँकी मतहरूको गणना बाँकी रहँदै विवाद चर्किएको हो ।
निर्वाचन अधिकृत अन्जु कुमारी महतोसँग पटक–पटक सम्पर्क गर्न खोज्दा उनले फोन उठाएकी छैनन् । क्याम्पस पुगेका सञ्चारकर्मीहरूलाई द्वारपालले प्रवेश गर्न नदिएको र दुर्व्यवहार गरेका छन् । क्याम्पस प्रशासनले विवादको विषयमा औपचारिक धारणा समेत सार्वजनिक गरेको छैन। नेविसंघ र अखिल (क्रान्तिकारी) ले पुनः मतगणना नभएसम्म विरोध जारी राख्ने अडान लिएका छन् भने जिल्ला प्रशासनको हस्तक्षेप आवश्यक रहेको बताएका छन्।
वीरगन्ज नर्सिङ क्याम्पसको स्ववियु निर्वाचनको मतगणना प्रक्रियामा देखिएको धाँधलीको आरोप र त्यसपछिको तनावले निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ । क्याम्पस प्रशासनको मौनता र सङ्गठनहरूबिचको आरोप–प्रत्यारोपले परिस्थिति जटिल बनेको छ । जिल्ला प्रशासनको मध्यस्थतामा पुनः मतगणनाको निर्णय भए पनि सबै पक्षको सहमतिमा पारदर्शी प्रक्रिया नअपनाइए विवाद थप चर्किन सक्ने देखिन्छ । अहिलेलाई सबैको ध्यान बिहीबार हुने मतगणनामा केन्द्रित भएको छ ।

