वीरगन्ज,२६फागुनःचैत ५ हुने स्ववियु निर्वाचनका लागि वीरगन्जको ठाकुरराम क्याम्पसमा उम्मेदवारको मनोनयन दर्ता मंगलबार हुदैछ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु, नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु(क्रान्तिकारी,जसपा निकट समाजवादी विद्यार्थी युनियन लगायतका संघसंगठनहरु सभापतिको उम्मेदवार घोषणा गर्दै चुनावी प्रसार प्रसारमा जुटिसकेका छन् ।
तर ठाकुरराम क्याम्पसको स्ववियुमा आफ्नो विरासत जमाउँदै आएको नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले भने अहिलेसम्म सभापतिको उम्मेदवार टुंगो लगाउन सकेको छैन । सभापति पदका लागि नेविसंघबाट विकास मण्डल, राज यादव,सुमित सिंह,राजु गुप्ता, सुधांशु चौरसिया,मेघराज यादव,प्रकाश रौननियार, दिपक पटेल, बरकत अली लगायत आधा दर्जन नेताहरु आंकाक्षी देखिएका छन् ।
उनिहरुले सभापतिको उम्मेदवार आँफु नै भन्दै विद्यार्थीमाझ पुगेर भोट मागन सुरु गरिसकेका छन् । तर माउ पार्टी कांग्रेस र नेविसंघको जिल्ला नेतृत्वले भने उम्मेदवारी दर्ताको एक दिनअघिसम्म पनि सभापतिको उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । जसका कारण नेविसंघका कार्यकर्ता र समर्थित विद्यार्थीहरु अन्योलमा छन् ।
नेविसंघका तर्फबट सभापतिका उम्मेदवार टुंगो लगाउन माउ पार्टी कांग्रेस र नेविसंघको जिल्ला नेतृत्वसहितको बैठक सोमबार पार्टी कार्यालयमा बस्यो । तर उक्त बैठक विना निष्कर्ष सकियो । अब फेरि बैठक मंगलबार बिहान ८ बजे बस्ने र सभापतिका उम्मेदवारको टुंगो लगाउने बैठकमा सहभागी कांग्रेसका जिल्ला सहसचिव नवीन सिंहले जानकारी दिए ।
सोमबार पार्टी कार्यालयमा बसेको बैठकमा पार्टीभित्रकै विभिन्न गुटका नेताहरुले आआफनो निकटका विद्यार्थी नेतालाई सभापतिको उम्मेदवार बनाउनु पर्ने अड्डी कसेपछि बैठक बिना निष्कर्ष सकिएको बैठकमा सहभागी कांग्रेसका एक नेताले बताए। उनले भने, यो कांग्रेसको पुरानै रोग हो । चाहे पार्टीको होस् वा भातृ संगठनको होस् कांग्रेसले मनोनयन दर्ताकै दिन उम्मेदवारको अन्तिम टुंगो लगाउँदै आएको छ । जुन अहिले ठाकुुरराम क्याम्पसको सन्दर्भमापनि देखियो ।
अन्य विद्यार्थी संघसंगठनले आफना सभापतिका उम्मेदवारको नाम नै घोषणा गरेर चुनावी प्रचार प्रसारमा अगाडि बढिसकेको अवस्थामा भने नेविसंघका सभापतिका उम्मेदवार अझैसम्मपनि घोषणा हुन नसक्नु दुखद भएको ती नेताले बताए । उनले भने, ठाकुरराममा विगतको भन्दा अहिले परिस्थिती फरक छ । यसअघिका स्ववियु चुनावमा नेविसंघकै आधकिारीक र बागी समुह गरी तीन चार समुह लड्पनि नेविसंघकै उम्मेदवार जित्थे । तर अहिले परिस्थिती विगतको भन्दा अल फरक छ । यदि पार्टी र नेविसंघ नेतृत्वले विचार पुरयाएन भने हामीलाई चुनाव जित्न विगतको जस्तो सजिलो नहुनपनि सक्छ ।
नेविसंघ पर्साका सभापति रमेश यादवले सोमबार पार्टी कार्यालयको बैठकमा दुई चरणको छलफल भएको बताए । पार्टीका नेता, नेविसंघका केन्द्रिय सदस्य र सभापतिका आकांक्षीसहितको बैठकमा सभापतिको उम्मेदवारका बारेमा गहन छलफल भएपनि निष्कर्ष भने नस्किएको उनले मधेसखबरलाई बताए । उनले अब अर्को बैठक मंगलबार बिहान ८ बजेफेरि बस्ने उनले जानकारी दिए ।
उनका अनुसार,सोमबार कांग्रेस पर्साका सभापति तथा मधेस प्रदेशका कृषिमन्त्री जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा बसेको बैठकमा कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेय, जिल्ला सचिव इम्तियाज, सहसचिव नवीन सिंह ,कांग्रेस युवा नेता बैकुण्ठ श्रीवास्तवका साथै नेविसंघका केन्द्रिय सदस्यहरु मुनराज तिवारी, त्रिलोकी साह, विकेश पटेल , सुरेन्द्र लामिछाने, युसुफ अहमद,राजेश पटेल,नेहा मिश्राका साथै नेविसंघबाट सभापतिका आकांक्षी विद्यार्थी नेताहरु लगायत सहभागी थिए ।
कांग्रेस पर्साका सभापति एंव मधेसका कृषिमन्त्री क्षेत्रीलेपनि मंगलबार बिहान बस्ने बैठकले सभापतिसहितका उम्मेदवारको नाम टुंगो लगाउने मधेसखबरलाई बताए । सोमबारको बैठकमा सहभागी सभापति पदका आकांंक्षी सबै विद्यार्थी नेताहरुले पार्टीले गर्ने निर्णय आफुहरुलाई सर्वस्वीकार्य हुने प्रतिबद्धता जनाएको भन्दै उनले मंगलबार बस्ने बैठक र स्ववियु निर्वाचनका लागि पार्टीका तर्फबाट जिल्ला प्रवक्ता रमेश पाण्डेलाई जिम्मा लगाइएको बताए ।

