Madhes Khabar
खेलकुद

केपी ओली कप च्याम्पियन मच्छिन्द्र वीरगन्ज गोल्डकपको सेमिफाइनलमा

वीरगन्ज,२०फागुनःकेपी ओली कप विजेता मच्छिन्द्र फुटबल क्लब वीरगन्ज गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबारमात्रै भएको केप ओली कपको फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै च्याम्पियन बनेको मच्छिन्द्र फुटबल क्लबले मंगलबार चर्च ब्वाइज युनाइटेडलाई स्तब्ध पार्दै वीरगन्ज गोल्डकपको अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

वीरगन्जको आदर्शनगर रंगशालामा मंगलबार भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा मच्छिन्द्रले चर्च ब्वाइजलाई २–१ ले पराजित गरेको हो । मच्छिन्द्रका लागि दुवै गोल कप्तान रेजिन सुब्बाले गरे भने चर्च ब्वाइजका कप्तान विदेशी खेलाडी डीका सरजेले आफ्नो टिमका लागि सान्तवना गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा खेलको ५४ औं मिनेटमा मच्छिन्द्रका विशाल तमाङले प्रहार गरेको कर्नर किक्लाई कप्तान रेजिनले गोलमा परिणत गराउँदै आफ्नो टिमलाई १–० को अग्रता दिलाउन सफल भएका थिए ।त्यसपछि खेलको ७६ औं मिनेटमा चर्च ब्वाइजका सुरजजी ठकुरीले प्रहार गरेको कर्नर किक्मा कप्तान डीकाले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याएका थिए ।

निर्धारित ९० मिनेटको खेलपछि थप गरिएको इन्जुरी समयको अन्तिम मिनेटमा भने मच्छिन्द्रका कप्तान रेजिनले दोस्रो गोल गर्दै आफ्नो टिमलाई २–१ को जित दिलाउन सफल भए ।मच्छिन्द्रका लागि दुई गोल गरेका कप्तान रेजिन नै खेलको म्यान आफ दी म्याच घोषित भए ।उनलाई नगद १० हजार रुपैयाँ र ट्रफी प्रदान गरियो ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुधबार घरेलु टीम वीरगन्ज युनाइटेड क्लब र साविक विजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो तथा अन्तिम सेमिफाइनलमा बिहीबार मच्छिन्द्र फुटबल क्लब र सलहेश फुटबल क्लब सिरहा भिड्ने छन् ।

भेट्रान सिटी क्लब वीरगन्जले आयोजना गरेको प्रतियोगिता फागुन २४ गतेसम्म चल्नेछ।प्रतियोगिताको उपाधि विजेता टिमले नगद ११ लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेता टिमले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

Related posts

टी-२० क्रिकेटमा भारतले रच्यो इतिहास

MadhesKhabar

भुटानसंग बराबरीमा राेकियाे नेपाल

MadhesKhabar

वीरगन्जमा आयोजित विद्यालय स्तरीय फुटबलको उपाधि भूपू सैनिक स्कुलले जित्यो

MadhesKhabar

Leave a Comment