सिमरा,८असाेज: आयोजक सिमरा भेट्रान क्लबले बाराकाे सिमरामा सुरु अन्तर्राष्ट्रिय भेट्रान कप फूटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । सिमरा रंगशालामा आइतबार बेलुकी भएको उद्घाटन खेलमा नवलपरासीको अभिषेक चर्च भेट्रान क्लबलाई ४-२ ले पराजित गर्दै आयोजक सिमराले सानदार सुरुवात गरेको हो ।
आयोजकको जितमा दिपेन राईले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे । निर्धारित ६० मिनेटको खेलमा राईले २६, ३८ र ४५औं मिनेटमा गोल गरेका थिए । आयोजकका लागि चौथो गोल गोपीप्रसाद भट्टले गरे ।
अभिषेक चर्चका लागि यमु राना र हरिबहादुर महतोले एक/एक गोल फर्काएपनि हार टार्न सकेनन् । खेलको म्यान अफ दि म्याच आयोजकका राई घोषित भए ।
प्रतियोगितामा सोमबार दुई खेल हुदैछ ।सिमरा रंगशालामा हुने पहिलो खेल चितवन भेट्रान क्लब र वीरगन्ज युथ एकेडेमीबीच हुनेछ । यसैगरी दोस्रो खेलमा दार्जलिङ भेट्रान क्लब र चाबहिल भेट्रान काठमाडौं भिड्नेछन् ।
यसअघि प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले गरेका थिए उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारी, अखिल नेपाल फूटबल संघ (एन्फा) का केन्द्रीय उपाध्यक्ष दावा लामा, मधेस प्रदेश फूटबल संघका अध्यक्ष नेपाल कार्की, बारा जिल्ला फूटबल संघका अध्यक्ष रामचन्द्र लामालगायत जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सुरक्षा निकायका अधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो । सिमरा भेट्रानका अध्यक्ष राजकपुर राउतको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सहजीकरण प्रदीप गौतमले गरेका थिए ।
असोज १३ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछ । स्व. मञ्जुदेवी गुप्ताको स्मृतिमा प्रत्येक वर्ष आयोजना हुने प्रतियोगितामा यस वर्ष बंगलादेश, भारत र नेपालका गरी १२ टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा बंगलादेश भेट्रान्स क्लब, क्लिबहाउस भेट्रान्स क्लब कलकत्ता, दार्जलिङ भेट्रान्स क्लब, साविक विजेता मोरङ भेट्रान्स क्लब, साविक उपविजेता चितवन भेट्रान्स क्लब, ईन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा, चाबहिल भेट्रान्स क्लब काठमाण्डौ, फ्रिडम फाईटर भेट्रान्स क्लब काठमाण्डौ, वीरगन्ज युथ एकेडेमी, अभिशेक चर्च भेट्रान्स क्लब नवलपरासी, नव जनजागृति भेट्रान्स क्लब सिमरा र आयोजकको सहभागिता छ ।साभार:ईशीलालेख डटकमबाट

