Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज नाका हुँदै सात महिनामा ८ अर्ब ६० कराेडकाे भारतीय धान आयात

वीरगन्ज,१०फागुन:वीरगन्ज नाका हुदै पछिल्लो ७ महिनामा भारतबाट ८ अर्ब ६० करोड रुपैयाँ बराबरको धान नेपालमा आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ महिनामा ८ अर्ब ६० करोड रुपैयाँ बराबरको २२ करोड ६२ लाख किलो धान आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।जसबापत भन्सारले ६६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

 

गत आर्थिक वर्षको यस अवधिमा वीरगन्ज नाका हुदै ४ अर्ब ८८ करोड रुपैयाँ बराबरको १३ करोड १७ लाख किलो धान आयात भएको थियो । तीन वर्षपछि भारतले निकासी पूर्ण रुपमा खुला गरेकाले उल्लेख्य परिमाणमा भारतीय धान र चामलसमेत भित्रिन थालेको हो । चालु आर्थिक वर्षमा मंसिरदेखि भारतीय धान आउन थालेको हो ।

 

भारतले यस वर्ष नेपालका लागि धानकाे निर्यातमा कोटा निर्धारण नगरेको वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं नेपाल चामल, दाल, तेल उद्योग संघका पूर्वअध्यक्ष सुबोधकुमार गुप्ताले बताए । भारतले ३ वर्षपछि नेपाल र अन्य देशमा धानको निकासी पूर्ण रूपले खुलाएको हो ।

गत वर्ष भारतले नेपालमा ६ लाख टन धान निकासीको कोटा निर्धारण गरेको थियो । विगतमा निकासीमा २० प्रतिशत शुल्क लगाएको भारतले यस वर्ष धान निकासीमा यो शुल्क हटाएर शून्यमा झारेको छ । विगतमा भारतमै धानको उत्पादन घटेको तथा रुस–युक्रेन युद्धलगायत कारण देखाउँदै भारतले छिमेकी मुलुकमा धानको निकासी नियन्त्रण गर्न कोटा निर्धारण गरेको थियो ।

यस वर्ष भारतले धानको निकासीमा कुनै बन्देज नलगाएकाले नेपालको सबै नाकाबाट धान आयात गर्न सकिने गुप्ताले जनाए । गत वर्ष वीरगन्ज र भैरहवा नाकाबाट मात्रै धान आयात भएको थियो । नेपालमा वार्षिक करिब २० देखि २२ लाख टन धान उत्पादन हुन्छ । तर, वार्षिक धानको माग ३० लाख टन छ । अपुग करिब ८ लाख टन धान आयात गर्नुको विकल्प नरहेको गुप्ताको भनाइ छ ।

भारतबाट धान आयात गर्दा ५ प्रतिशत भन्सार शुल्क र २ दशमलव ५ प्रतिशत अग्रिम आयकर मात्र लाग्ने गुप्ताले जनाए । धान भित्रिने क्रम जारी रहेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत अमित तिवारीले बताए । ‘अहिले पनि दिनहुँ ८० देखि १ सय ट्रक धान वीरगन्जबाट भित्रिँदै छ,’ उनले भने ।साभार:कान्तिपुर

Related posts

सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत साह घुस रकमसहित पक्राउ

MadhesKhabar

पर्सामा कुष्ठ रोगका बिरामी सबै भन्दा बढि वीरगन्ज महानगरमा

MadhesKhabar

सर्लाहीमा सहकारी कर्मचारी माथि गोली प्रहार

MadhesKhabar

Leave a Comment